एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिड्ने



काठमाडौं ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शीर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दै छन्।

यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रङ्गशालामा हुँदै छ। यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ।

त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौं रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन्।

यो खेल मंगलबार हुने छ। यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्ने छ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ।

दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ। लिग चरणका खेलहरू सकिएपछि अब शीर्ष चार क्लब प्लेअफमा पुगेका छन्।

जसमा पोखरा ठण्डर्स १५ अङ्कसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अङ्कसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

त्यसै गरी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स १२ अङ्कसहित तेस्रो हुँदै र ललितपुर सिटी एफसी १० अङ्कसहित तेस्रो हुँदै प्लेअफमा छनौट भएको हो।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अङ्क हासिल गरे पनि गोल अन्तरको आधारमा पाँचौँ र छैटौँ भएपछि प्लेअफमा पुग्न असफल भएका छन्।

त्यसैगरी एफसी चितवनले ९ अङ्क हासिल गरी सातौँ, वीरगन्ज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अङ्क हासिल गरी आठौँ र नवौँ स्थान हासिल गरेका छन्। नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुने छ।

प्रतिक्रिया दिनुहोस्