महानिरीक्षक कुँवरद्वारा जिल्ला प्रहरी कार्यालय मुगुकाे नवनिर्मित भवन उद्‍घाटन (तस्वीरसहित)


मुगु ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगु परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख र सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् ।साथै उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् । कार्यक्रमको अवसरमा महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनेलाई प्रशंसा-पत्र प्रदान गरे ।

उक्त अवसरमा महानिरीक्षक कुँवरले सुविधा सम्पन्न कार्यालय भवन, व्यवस्थित तथा गुणस्तरीय ब्यारेक, मेश लगायत दैनिक आवश्यक पर्ने भौतिक संरचना प्रहरी कर्मचारीहरूको मनोबलका साथै प्रहरीबाट प्रवाह हुने सेवासँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै हालै निर्माण भएको नयाँ र सुविधा प्राप्त भवनहरूले प्रहरी कर्मचारीहरूमा थप जिम्मेवारी निर्वाह गर्न उर्जा र हौसला मिल्ने बताए ।

 

महानिरीक्षक कुवँरले प्रभावकारी अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, मानव अधिकारको संरक्षण लगायत विपद् उद्दार कार्यमा प्रहरी सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आम नागरिकको भरोसा योग्य र विश्वसनीय संगठनको रूपमा स्थापित हुने सफल भएको बताए । संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई सुदृढ र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको उनले बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले धन्यवाद मन्तव्य व्यक्त गरेका  उक्त कार्यक्रममा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी र छायाँनाथ नगरपालिका प्रमुख विष्णु कुमार भामले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गरेकाे उक्त कार्यक्रममा प्रहरी निरीक्षक ई. नितिन लाखेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।नेपाल सरकारको नियमित बजेटबाट कुल २ करोड ५८ लाख २० हजार ४ सय ४६ रूपैयाँ १९ पैसा लागतमा कार्यालय भवन र ७ करोड ५६ लाख ६३ हजार २ सय २६ रूपैयाँ ३ पैसा लागतमा ब्यारेक, कार्यालय प्रमुख रसिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला अदालत मुगुका न्यायाधीश दिल कुमार बर्देवा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशनसमेत दिएका छन् ।