एनआई सी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

0
Shares

इटहरी ।

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १० दिनमा १२ ठाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले १४ मंसिरदेखि सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर, जुम्ला, नारायणपुर, दुर्गौली, पीपलटार, फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

लघुवित्तले विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दर्जनभन्दा बढी विद्यालयका तीन सयभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको जनाएको छ । कार्यक्रमले विशेष गरेर बालबालिका एवं युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको संस्थाको भनाइ छ ।

वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण र वित्तीय कारोबारबारे अनभिज्ञ विद्यार्थी भाइबहिनीलाई केन्द्रविन्दुमा राख्नुपर्ने ठहरका साथ बालबालिकामा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाको भनाइ छ । आउँदा दिनहरूमा यो कार्यक्रम थप प्रभावकारी हुने संस्थाले अपेक्षा गरेको छ । संस्थाले हाल २८९ शाखामार्फत वित्तीय सेवा दिँदै आएको जनाएको छ ।