गैँडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुँदै



नवलपुर ।

दुर्लभ एकसिंगे गैँडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ।

खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

राजधानी काठमाडौं बाहिरको सर्वाधिक पुरस्कार राशिको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको छौटौँ संस्करण आगामी माघ २७ गतेदेखि सुरु हुनेछ । मध्यविन्दुको राइनो क्लबको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख पुरस्कार हात पार्नेछ।

प्रतियोगिताको उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ टोली, आयोजक नवलपुर जिल्लासहित ‘ए’ डिभिजनका फुटबल क्लब, गण्डकी लुम्बिनी, मधेस र बागमती प्रदेशबाट चार टोलीसहित १२ टोलीको सहभागिता रहने भण्डारीले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ। विगत दुई दशकदेखि सञ्चालित राइनो कप फुटबल प्रतियोगिताको परिस्कृत र परिमार्जित अवधारणाको राष्ट्रियस्तरको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७० सालदेखि सञ्चालन गरिएको थियो।

जिल्लाको मध्यविन्दु–२ कोल्हुवास्थित राइनो कप खेल मैदानमा बर्सेनि हुने प्रतियोगिता विगतमा कोरोना महामारीको संक्रमणका कारण स्थगित गरिएको थियो।

आयोजकले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि खेलकुद परिषद्को सहयोग रहने बताए।

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले स्थानीय खेलाडी उत्पादन गर्नु आफ्नो र नगरपालिकाको प्राथमिकता रहे पनि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको निरन्तरता र विकासका लागि नगरपालिकाकोतर्फबाट सहयोग रहने बताए।

प्रतिक्रिया दिनुहोस्