मानव भविष्य सुरक्षित गर्न वातावरण संरक्षण र नवीकरणीय उर्जा प्रवर्द्धन आवश्यक

0
Shares

काठमाडौं ।

मिस नेपाल वर्ल्ड श्रीच्छा प्रधानले आफ्नो भविष्य कस्तो निर्माण गर्ने भन्ने कुरा मानिसको आफ्नै हातमा रहेको जिकिर गर्दै यस विषयमा विभिन्न क्षेत्रमा कार्यरत युवाहरुवीच सहकार्य र छलफल हुनुपर्नेमा जोड दिएकी छिन् ।

ल्याण्ड आवर फ्युचर नामक संस्थाको प्रथम राष्ट्रिय सम्मेलनमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै उनले भने– ‘हामीले विकासको कुरा गर्दा मानिसलाई केन्द्रविन्दूमा राखेर हैन, प्रकृति र सम्पूर्ण प्राणीहरुलाई केन्द्रमा राखेर योजना बनाउनुपर्छ । उनले प्रकृतिको उचित संरक्षण र सम्वर्द्धन गर्न सकेमात्र युवाहरुको भविष्य सुरक्षित रहने बताए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वैकल्पिक उर्जा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वातावरण संरक्षण र जलवायुका समस्यालाई सम्बोधन गर्न नसके गरीव र धनीवीचको खाडल झन् ठूलो हुंदै जाने विचार व्यक्त गर्दै वर्तमान समयमा नवीकरणीय उर्जा प्रवद्र्धनको क्षेत्रमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गरे ।

कार्यक्रमका अर्का विशेष अतिथि पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साहले नेपाल जैविक विविधताको धनी राष्ट्र भएको कुरामाथि प्रकाश पार्दै वातावरण संरक्षणको निम्ति परम्परागत प्रविधिको सट्टा नवीकरणीय उर्जाको प्रयोगमा जोड दिन पर्ने आवश्यकता औंल्याए । त्यस्तै संस्थाका सल्लाहकार तथा पूर्व वातावरण मन्त्री सुनिल मानन्धरले जलवायु परिवर्तनको समस्यासंग जुझ्ने र वातावरण संरक्षणलाई प्रभावकारी रुपमा अगाडि बढाउने जिम्मा युवाहरुको कांधमा आएको विचार व्यक्त गरे ।

डिल्लीबजारस्थित कलेज अफ बिजनेस मैनेजमेण्टको हलमा आयोजित सो सम्मेलनमा संस्थाका अध्यक्ष अभिनव चौधरी, युवा वैज्ञानिक तथा कलेजका डाइरेक्टर शिशिर जि।सी।, उद्यमी कुशल गुरुङलगायतका वक्ताहरुले जलवायु संरक्षण तथा वातावरण संरक्षणका विविध पक्षहरुमा प्रकाश पार्नुभएको थियो । विज्ञान, वातावरण, कृषि आदि विविध क्षेत्रका विशेषज्ञ, युवा तथा विद्यार्थीहरु गरी करिव एक सय व्यक्तिहरुको सहभागितामा शनिवार सुरु भएको सो सम्मेलन दुई दिनसम्म चल्ने छ।