सुदूरपश्चिममा लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरु बढ्दै

0
Shares

डडेल्धुरा ।

देशभर लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान बिविध कार्यक्रमका साथ मनाई रहेका बेला सुदूरपश्चिम प्रदेशमा भने लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरु बर्षेनी बढ्दै गएको पाइएको छ ।

समाजमा लैङ्गिक हिंसा बढ्दै जाँदा यँहाका महिलाहरु दिनहुजसो पीडित बन्ने गरेका छन । सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक वर्षको अवधीमा एक हजार दुई सय आठ महिलाहरु घरेलु हिंसाको शिकार बन्न पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको अभिलेखमा उल्लेख गरिएको छ । घरेलु हिंसाका अधिकांस घटनाहरु प्रहरीसम्म नपुग्ने र प्रहरीमा दर्ता गरिएका मध्ये पनि ९९ प्रतिशत घटना आपसी मिलापत्रमा टुङ्गिने गरेकोले पीडित महिलाहरुले न्याय पाउन नसकिरहेको स्थानीय महिला अधिकारकर्मीहरुको गुनासो छ ।

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७९-०८० मा मात्र दुई सय ७७ यौनजन्य हिंसाका मुद्दा प्रहरीमा दर्ता भएका छन । यौनजन्य हिंसाका घटनामा पनि पीडित महिलाले न्याय पाउन निकै सास्ती भोग्नु परिरहेको दलित महिला संघ डडेल्धुराकी कार्यक्रम संयोजक अधिकारकर्मी सुनिता गैरले बताउनु भयो । उँहाले समाजमा बढ्दै गएको लैङ्गिक विभेदका कारण यँहाका महिलाहरुले नारकीय जीवन बिताउनुपर्ने बाध्यता कायमै रहेको जिकिर गर्नुभयो ।

हरेक वर्ष मनाइने गरिएको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान शनिबारदेखि देशभर बिविध कार्यक्रमसहित मनाउन थालिएको छ । देशभर लैङ्गिक हिंसाविरुद्ध विविध जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरेर अभियान सञ्चालन भइरहेकै बेला यँहाका महिलाहरुले लैङ्गिक विभेदको सामना गर्नु परिहेको महिला उद्यमी मिना फुलाराले बताउनु भयो । उँहाले आर्थिक रुपमा महिलाहरु सक्षम हुन नसकेसम्म समाजमा लैङ्गिक विभेदको अन्त्य हुन नसक्ने दाबी गर्नुभयो ।

यौनजन्य हिंसा र घरेलु हिंसाबाट सुदूरपश्चिम प्रदेशका अधिकांस महिलाहरु अहिले पनि पीडित बन्न पुगेको तथ्यांकले देखाएको छ । यौनजन्य हिंसाको नाता–सम्बन्धको आधारमा प्रहरीले गरेको एक वर्षको विश्लेषणले लैंगिक हिंसासम्बन्धी भयानक चित्रण गरेको छ । महिला तथा बालबालिकाको सुरक्षामा आफन्त र छरछिमेकका चिनजानकै ब्यक्तिहरु चुनौती बन्ने गरेको प्रहरी अधिकारीहरु बताउछन ।

यौनजन्य हिंसामा जबरजस्ती करणी, बाल यौन दुव्र्यवहार, अप्राकृतिक मैथुनजस्ता घटना पर्दछन । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान प्रभावकारी रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आए पनि महिलामाथि हुने यौनजन्य हिंसा र घरेलु हिंसामा भने कमि आउन सकेको छैन ।

लैङ्गिक तथा घरेलु हिंसाबिरुद्ध लामो समयदेखि क्रियासिल गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराकी कार्यकारी निर्देशक पदमा गुरुङ सरकारले महिलाबिरुद्ध हुने लैङ्गिक हिंसामा संलग्न ब्यक्तिहरुलाई कडा कानूनी कारवाही गर्न नसकेकाले पनि समाजमा दण्डहिनता मौलाउँदै गएको हुँदा लैङ्गिक हिंसामा कमि आउन नसकेको जिकिर गर्नुभयो । उँहाले लैङ्गिक तथा घरेलु हिंसामा कमि ल्याउनका लागि दण्डहिनताको अन्त्य हुनुपर्ने बताउनभयो ।