जानले पायो जापानको फरेन मिनिष्टर्स कम्मेन्डेसन अवार्ड


काठमाडौं ।

जापानको परराष्ट्र मन्त्रालयले नेपाल जाइका अलमनाई एसोसियसन (जान) लाई सन् २०२३ को फरेन मिनिष्टर्स कम्मेन्डेसन अवार्ड (प्रशंसापत्र) प्रदान गरेको छ ।

नेपालका लागि जापानी राजदूत युताका किकुताको निबास ताहाचलमा शुक्रबार आयोजित एक समारोहमा राजदूत किकुताले जानका अध्यक्ष डा. रामचन्द्र भुसाललाई उक्त प्रशंसापत्र हस्तान्तरण गरेका हुन् । जानले नेपाल र जापान बीचको मैत्रीपूर्ण सम्बन्धलाई मजवूत बनाउन लामो समयदेखि निरन्तर रुपमा पु¥याउँदै आएको उल्लेखनीय योगदानको कदरस्वरुप जापानले जानलाई उक्त प्रशंसापत्र प्रदान गरेको हो ।

कार्यक्रममा जापानी राजदूत किकुताले जापान सरकारबाट दिइने महत्वपूर्ण पुरस्कार प्राप्त गरेकोमा जानलाई वधाई ज्ञापन गर्दै जानले दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरिरहेको विचार व्यक्त गरे । उनले जानका सदस्यहरु नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको नेतृत्वदायी भूमिकामा रहेकोले नेपालको विकासमा र दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई भविष्यमा अझै मजवूत बनाउन जानका सदस्यहरुको योगदान महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जानले नेपाल–जापान मैत्री सम्बन्ध कायम गर्न, जापानी प्रविधिहरु नेपाल भित्र्याउन र दुई देश बीचका जनताको सुख दुःखमा समेत मैत्री पुलको रुपमा लामो समयदेखि खेल्दै आएको भूमिका र योगदानको कदर गर्दै जापान सरकारले प्रशंसापत्र प्रदान गरेकोेमा जापानको परराष्ट्र मन्त्रालय र नेपालस्थित जापानी राजदूतावासलाई धन्यवाद ज्ञापन गरे ।

उनले यस पुरस्कारले आफु र जानका संपूर्ण सदस्यहरुलाई आगामी दिनहरुमा राष्ट्र निर्माण र नेपाल–जापान मैत्री सम्बन्ध बलियो बनाउने कार्यमा अझै सक्रिय भइ लाग्ने प्रोत्साहन मिलेको बताए । अध्यक्ष भुसालले जानका सदस्यहरु जापानमा बस्दा नेपालको सद्भावदूत र नेपालमा बस्दा जापानका सद्भावदूत बनेर नेपाल जापान–बीचको मैत्री सम्बन्ध बलियो बनाउन लागि रहेको जिकिर पनि गरे ।

कार्यक्रममा जानको आजीवन सदस्य समेत रहेका विभिन्न संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव, वर्तमान तथा पूर्व सचिवहरु, नेपाल सरकारका उच्च अधिकृतहरु, जानका पूर्व अध्यक्षहरु र जापानी राजदूतावास एवं जाइका नेपालका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

जान जापानमा अध्ययन गरी फर्र्किएका नेपाल सरकारका वहालवाला तथा सेवा निवृत्त सरकारी अधिकारीहरु, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिकहरु, प्राज्ञहरु, स्वतन्त्र प्राविधिज्ञ तथा व्यवसायिहरुको सामाजिक संस्था हो ।

यस संस्थाले नेपाल सरकार तथा जापान सरकार बीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा शीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन् १९७३ देखि क्रियाशिल रही आएको छ । यो वर्ष जानले आफ्नो स्वर्ण जयन्तीको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु समेत आयोजना गरेको छ ।