जुनार उत्पादनमा वृद्धिः २० करोड भन्दामाथि कारोबार

14
Shares

रामेछाप ।

मन्थली नगरपालिका १४ फुलासिका जित बहादुर पुलामीले यस वर्ष ४ लाख बराबरको जुनार र सुन्तला बेच्नुभयो । १५ वर्ष देखि व्यावसायिक जुनार सुन्तला खेती गदै आउनु भएका पुलामीले झन्डै ५ रोपनी भन्दा बढी जमिनमा जुनार सुन्तला लगायतका अमिलो जातका फलफूल लगाउनुभएको छ ।

त्यस्तै अर्का कृषक हुन् । रामेछाप नगरपालिका ६ भालुखोपमा सेर बहादुर तामाङ । रामेछाप नगरपालिका ६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनारले राम्रो बजार मूल्य पाएकोमा खुसी हुनुहुन्छ । उहाँ अनुसार जुनारको उत्पादन जस्तै बजारको पनि समस्या छैन । व्यापरीहरु अहिले कृषकको बगैँचामै आएर जुनार सुन्तला किन्ने गरेका छन् । व्यपारिहरु केही महिना अघि नै कृषकको बगैँचामा आउने र अग्रिम भुक्तानी गर्ने गरेका छन् ।

अहिले रामेछापमा सुन्तला बगैँचाबाटै प्रतिकिलो १ सय र जुनार प्रतिकिलो ६० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । पछिल्लो केही वर्ष देखि रामेछापमा अमिलो जातका फलफूल उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मार्फत प्राविधिक तथा अन्य सहयोग पाए पश्चात् उत्पादनमा वृद्धि भएको हो ।

उत्पादनमा वृद्धि र बजारीकरणमा सहज भए पश्चात् रामेछापका कृषक कृषि समूह र कृषि सहकारीको सक्रियतामा समेत वृद्धि बताउनु हुन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकी नायव प्राविधिक सहायक भवानी बस्नेत । कृषि जन्य उत्पादन वृद्धिका परियोजनाले निःशुल्क प्राविधिक सहयोग, सिँचाई, अनुदान तथा बजार व्यवस्थापनमा समेत सहयोग गरेको छ ।

रामेछापमा २ सय भन्दा बढी व्यावसायिक कृषि फर्म सक्रिय रहेको छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले रामेछाप नगरपालिकाको १,२,४,५,६,७ र ८ मन्थली नगरपालिकाको ४,५,६,९,१३ र १४ वडालाई जुनार जोन घोषण गरी कार्यक्रमहरू गरी रहेको छ ।

जोन क्षेत्रमा मात्रै ५ सय ३० हेक्टरमा जुनार खेती हुने गरेको बताउनु हुन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिर लाल गैरे । जोन क्षेत्रमा परियोजनाले प्राविधिक सहयोग सिँचाइका लागि सहयोग, रोग तथा किरा नियन्त्रणमा सहयोग र चिस्यान केन्द्र निमार्णमा समेत सहयोग गरेको गैरेले बताउनु भयो ।

हाल रामेछापमा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुने गरेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन भएको छ । उत्पादित जुनार तथा सुन्तलाको होलसेल मूल्य करिब २० करोड भन्दा माथि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जनाएको छ ।