आफ्नै अभिव्यक्तिको गलपासोमा पर्यटनमन्त्री

0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई क्रिसमस फेस्टिभलमा आफूले दिएको अभिव्यक्ति आफैंलाई गलपासो बनेको छ। उहाँको अभिव्यक्तिका कारण उहाँको व्यापक आलोचना भएको हो।

बिहीबार मन्त्री किराँतीसमेत सहभागी संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपा महामन्त्री धवलशमशेर राणाले भन्नुभयो– ‘मन्त्रीजी तपाईंले क्रिश्चियनको विरोध गरे हत्कडी लगाउनुपर्छ भनेर दिएको अभिव्यक्ति गलत भयो। तपाईंजस्तो पदमा बसेको मन्त्रीले क्रिश्चियनको विरोध गरेकोमा जेल जानुपर्छ भनेर दिएको अभिव्यक्तिले साम्प्रदायिक विद्वेष फैलाएको छ। यसमा तपाईंले माफी माग्नुपर्ने हो।’

किराँतीको अभिव्यक्तिप्रति आक्रोशित देखिएका राणाले सार्वजनिक पदमा बसेर क्रिश्चियन धर्मलम्बीहरूलाई उक्साउने र ८० प्रतिशत ओमकार परिवार हिन्दुहरूको अपमान गर्न नपाइने भन्दै ध्यानाकर्षण गर्नुभयो।

यसै विषयलाई लिएर मन्त्री किराँतीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।

नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरू समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको टिप्पणी गर्नुभयो।

‘उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन’, उहाँले भन्नुभयो–‘मन्त्री किराँतीले सामाजिक सद्भाव बिगार्ने काम गरेकाले उहाँलाई बर्खास्त गर्नुपर्छ।’

यसै विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री किराँतीले साम्प्रदायिक विद्वेष फैलाएको भन्दै मन्त्री किराँतीको राजीनामा माग्नुभएको छ। लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ।’

बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो। सोही अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले विरोध जनाउँदै आएका छन्।

मन्त्री किराँतीले बुधबार मात्रै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेका माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी पुनका विषयमा समेत प्रश्न उठेका छन्।

धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको भन्दै मन्त्री किराँतीमाथि चर्को आलोचना भएको छ।

जिम्मेवार निकायमा बसेका पदाधिकारीहरूबाट आउने यस्तै विवादास्पद अभिव्यक्ति र क्रियाकलापका कारण वर्तमान व्यवस्थामाथि प्रश्न उठाउनेहरूको संख्या बढ्दै गएको छ।