राष्ट्रिय नवजागरण : आजको आवश्यकता

0
Shares

काठमाडौं ।

नेपालमा पटक–पटक राजनीतिक क्रान्तिहरु भए। ती पनि नेपालीका आफ्नै बलबुतामा सम्पन्न भएनन्। लगाम अरुकै हातमा छुट्यो। यसै भएर जनजनमा क्रान्तिचेत पुगेन।

देशप्रतिको दायित्वचेत पुगेन। राजनेताहरुमा सत्तामा जाऊ, खाऊ, कमाऊ भावको बाढी आयो। लोभ र पापबाट जोगिने सद्विचार आएन। आचरणगत शुद्धता आएन। फलतः राजनीतिमा कहिल्यै स्थिरता आएन। आएको छैन।

नेपालमा योजनाबद्धरुपमा विवेकशील, सृजनशील मन–मस्तिष्कका देशभक्त, जनप्रेमी, प्रबुद्ध जननेताहरुको नेतृत्वमा सामाजिक क्रान्ति हुनुपर्ने थियो । आर्थिक क्रान्ति हुनुपर्ने थियो । कृषिक्रान्ति हुनुपर्ने थियो।

औद्योगिक क्रान्ति हुनुपर्ने थियो। भएको छैन। यसैले आजसम्म समाजमा जुन सन्तुलन, जुन सौहार्द, जुन सामूहिकता, जुन सहकारिता, जुन पारस्परिक आत्मनिर्भरता, जुन प्राप्ति र समृद्धि हुनुपर्ने थियो, त्यो भएको छैन ।

राजनीति कहाली लाग्दो भ्रष्टाचारको भुमरीमा सन्सनाउँदै घुमेको छ। जनजीवनमा पृथकता, अस्थिरता, असन्तोष, अविश्वास र आतंकको आगो सल्केको छ।

राजनीतिक, आर्थिक अवस्थाले राष्ट्रिय जनमानसमा अनेकौँ यक्षप्रश्न ठड्याएको छ। व्यवहारतः सार्थक उत्तर दिने कि महाविनाशका लागि प्रतीक्षारत रहने ? प्रश्न यो छ।

अनुभवी पूर्वजहरु भन्छन्, राष्ट्रका हरेक एकाइहरुले पहिचानका नाममा पृथकताको आकांक्षा व्यक्त गर्न थाले भने, राजनीतिक गुण्डागर्दी र माफियाकरणका कारण व्यवस्था झन्–झन् अस्थिर हुँदै गयो भने, चारैतिर भ्रष्टाचार, अन्याय, अत्याचार, हत्या, बलात्कारका प्रेतच्छायाहरु घनीभूत हुँदै गए भने, जनताबीच आपसमा अविश्वास बढ्दै गयो भने, समाजका परम्परागत संस्कृतिका भित्ताहरु भत्किँदै गए भने, युवापुस्तामा असन्तोषको ज्वाला बढ्दै गएर कतै व्यापक पलायन र कतै विस्फोटको अवस्था चुलिन थाल्यो भने, मुलुकभित्र व्यापक जनक्रान्तिको आवश्यकता पर्छ । सामाजिक, सांस्कृतिक क्रान्तिको आवश्यकता पर्छ।

अन्यथा समाज महाविनाशको ब्ल्याकहोलमा पनि जान सक्छ। समाजमा मानवीय मूल्यहरुको भयङ्कर चुहावट, सत्तामा भ्रष्टाचारका महाताण्डव, जर्जर बनेर भत्कनै लागेका राजनीतिक, आर्थिक एवम् सामाजिक व्यवस्थाहरु, दैनिक हजारौँको सङ्ख्यामा नेपाल छोडेरै विदेश पलायन हुने क्रममा रहेको युवापुस्ता, जनजनमा व्याप्त निराशा, उग्र आक्रोश, उकुसमुकुस कुण्ठा, बढ्दो आत्महत्या, नागरिकलाई बाँच्नका लागि पनि अपराधी बन्न विवश पार्ने राजनीतिक व्यवस्था र यसका कर्मचारीतन्त्र, देशभित्र–बाहिर प्रतिक्षण चौतर्फी पीडा भोग्न विवश मुलुकको आधा जनसंख्या अर्थात् महिलाहरु, सत्ताद्वारा प्रगतिका तमाम सम्भावनाहरु खोसेर भाग्य–भविष्यविहीन बनाइएका मुलुकका बालबालिकाहरु, यो सबै भयङ्कर महाविनाशको तयारी होइन र ?

वर्षौंदेखि देखे–बुझेको कुरा हो, मानिसलाई चरम निराशाले आत्महत्यातिर प्रेरित गर्छ। उग्र आक्रोशले अपराधी बन्न विवश पार्छ। जीवन व्यवस्थाका वर्तमान स्वरुपमा कतै स्थान र पहिचान नपाएका युवायुवतीहरुको अवस्था साँच्चिकै विकराल छ । सत्ताका आडमा मुलुकमा चलेको उद्योग भनेको म्यानपावर कम्पनी अर्थात् मानवमानवी बेचबिखन उद्योग नै हो।

मुलुकमा आज पढ्न पठाउने नाममा बालबालिका, किशोरकिशोरीहरु विदेश निकासी गर्ने र कमाउने कन्सल्ट्यान्सी नामका उद्योगधन्दा मात्र दश हजारभन्दा बढी छन्। देश र जनतालाई समृद्ध बनाउने उत्पादनमूलक उद्योग एउटै छैन।

कमिसनखोर नेतागण र घुस्याहा कर्मचारी तन्त्रले त्यस्तो उद्योग मुलुकमा उम्रनै दिँदैन । कतै उम्रेका देखिए फँडानी गर्छ । यो आजका नेपालको तथ्यकथा हो।

प्रिन्स क्रोपाट्स्किन भन्थे, उराठ लाग्दो यथास्थिति बढार्न क्रान्ति आवश्यक हुन्छ । क्रान्तिको अभिप्राय हो आमूल परिवर्तन । झार उखेल्ने परिवर्तन होइन, चपरी पल्टाउने परिवर्तन । जुन परिवर्तनले व्यवस्था बदल्छ, व्यवस्थापक पनि बदल्छ । यस्तो परिवर्तन संसारका कति मुलुकमा भएको पनि छ । परिवर्तनपछि जनताले राहत पाएका छन् । सुखसमृद्धि पाएका छन् ।

हामीलाई आज चाहिएको क्रान्ति राजनीतिक होइन । राजनीति त चाहिएकै छैन। अब चाहिएको क्रान्ति व्यापक सामाजिक, सांस्कृतिक क्रान्ति हो । आफू र आफ्ना भनिएकाहरुसँग गरिने निर्मम संघर्षको क्रान्ति हो।

हाल उल्टिएको अवस्थामा रहेको जीवनमूल्यसम्बन्धी सोचसमझ सल्टाउने, सुल्टाउने क्रान्ति हो । पैसा कमाउन पागल नेता, उपनेता, कर्मचारी गण र चरम निराशा बोकेर देश छोड्न उद्यत् युवापुस्ताको मनमस्तिष्क सल्टाउने विचारक्रान्ति हो ।

आजको क्रान्तिले नेपालमा नेपालीहरुले यो मेरो देश, यो हाम्रो देश, यसको रक्षा र प्रगति हामीले नै लागिपरेर गर्नुपर्छ भन्ने भावना र क्रियाशीलताको व्यापक जागरण अभियान चलाउनुपर्छ । राजनीतिक व्यवस्था बदलेर पुगेन । मुलुकको जीवन व्यवस्था बदल्नुपर्छ ।

दार्शनिक योगी श्री अरविन्दले पनि भनेका छन्, ‘सांस्कृतिक क्रान्ति नै सम्पूर्ण क्रान्ति हो।’ सांस्कृतिक क्रान्ति विचार र आचरण बदल्ने क्रान्ति हो। विश्वकै श्रमिक जनताका महान् गुरु माओले यसको व्यापक व्याख्या विश्लेषण गर्नुभएको छ ।

प्रकारान्तरले यसभित्र नारी सबलीकरण, जनस्वास्थ्य, जीवनसाधना, आचरण परिष्कार, उद्योग इलमको विकास, मुलुक र जनताको सर्वाङ्गीण प्रगति सबै पर्छ । योगी अरविन्दका विचारमा पनि ‘सांस्कृतिक क्रान्ति भनेको जनताको जीवन र मुल्ुकको राजनीतिक, आर्थिक, सामाजिक, सबै व्यवस्थालाई पूर्णरुपले निर्मल, परिष्कृत र सफल बनाउने सार्थक क्रान्ति हो। मानिसको विचार र आचरणमा उज्यालो परिवर्तन ल्याएर व्यक्तिदेखि समाजसम्म सबैलाई इमानदार सेवाधर्मीमा रुपान्तरण गर्ने क्रान्ति हो ।’

संसारमा धेरै क्रान्ति भए । नेपालमा पनि भयो । क्रान्तिबाट बाहिरी परिवर्तन मात्र भयो। कुर्सीमा मानिस मात्र फेरिए। व्यवस्थाको नाम बदलियो। चरित्र बदलिएन । अन्तष्करण बदलिएन । राजतन्त्रका ठाउँमा लोकतन्त्र भनियो । राजाका ठाउँमा भोका नेताहरु आए।

राजतन्त्र झन् बीभत्स भएर नेताका टाउका–टाउकामा फैलियो । गएन राजतन्त्र । जुन काम हिजो राजा र तिनका सामन्तले गर्थे त्यो काम आज नेता र तिनका चाटुकार बिचौलियाहरुले गर्छन्। राजाहरुमा देशपे्रम त थियो। देश नरहे हामी रहँदैनौँ भन्ने त थियो।

नेता र तिनका चाटुकारहरुमा त देशप्रेमको नामनिसानै छैन । यिनीहरु त देशलाई बर्थडे केक बनाएर, टुक्रा–टुक्रा पारेर खाइदिन सक्छन्। जाँडपानी बनाएर पिइदिन सक्छन् । विभिन्न सन्धि–सम्झौताका बहाना बनाएर बेचिदिन सक्छन् । बेचेका छन् । मुलुकको अवस्था भयावह छ।

आजको यस भयावह स्थितिमा एक व्यापक र बहुआयामिक सांस्कृतिक क्रान्तिले मात्र मुलुकलाई जोगाउन सक्छ। सत्तासीनहरुमा देखिएको सिद्धान्तहीनता, विदेशपरस्तता, द्रव्यलोलुपता, शीर्ष–उपशीर्ष नेताहरुमा व्याप्त हुँदै गएको देश र जनता लुटी थुपार्ने हाँडीघोप्टे प्रवृत्ति, जनजीवनमा देखिन थालेको मुलुकको भविष्यप्रति आशा र विश्वासको स्खलन, व्यापक पलायनको मनोविज्ञान, जातीय विद्वेष, धार्मिक विच्छृङ्खलता, राजनीतिक गुण्डागर्दी यी सबैको प्रभावकारी उपचार बहुआयामिक सांस्कृतिक क्रान्ति नै हुन सक्छ । आचार विचारमा रुपान्तरणकारी महाक्रान्ति नै हुन सक्छ ।

विचार बदलिएपछि मनस्थिति बदलिन्छ । मनस्थिति बदलिएपछि आस्था, मान्यता र धारणाहरु बदलिन्छन् । विश्वास र मूल्य बदलिन्छ । आचरण बदलिन्छ । विचार र आचरण बदलिएपछि व्यक्तिको व्यक्तित्व बदलिन्छ । समाजको व्यक्तित्व बदलिन्छ । यो नै राष्ट्रिय नवजागरण हो । आज मुलुकलाई राष्ट्रिय नवजागरणको खाँचो छ ।

स्वामी विवेकानन्दले पनि भनेका छन्, ‘राष्ट्रको पहिलो आवश्यकता मनुष्यनिर्माण हो। मनुष्य हुन केवल मानवीय कलेवर भएर पुग्दैन। कलेवरमा मानवीय गुणहरुको समन्वय पनि चाहिन्छ। मानवीय गुणहरु, भावहरु र संवेदनाहरुबाट मनुष्य कुँद्नका लागि सांस्कृतिक क्रान्तिका आरनको आवश्यकता पर्छ । यसैबाट मानिसले हराएको आफ्नो पहिचान प्राप्त गर्न सक्छ । आफ्नो लुप्त महिमा र गरिमा पुनः प्राप्त गर्न सक्छ।यस्तो गरिमासम्पन्न र महिमामण्डित व्यक्तित्वको ज्वलन्त चैतन्यधारामा अनेकौँ नयाँ व्यक्तित्वहरुका चेतना परिष्कृत हुन सक्छन् । एउटा बत्तीबाट धेरै बत्तीहरु सल्किन सक्छन्। मानिसको मनस्थिति बदलिएपछि परिस्थिति बदलिन्छ । व्यक्तिको चिन्तन र प्रयत्न नै व्यवस्थाको बीज हो, व्यक्ति बदलिँदा व्यवस्थाका गुण र मूल्य बदलिन सक्छन् । सांस्कृतिक क्रान्तिमा व्यक्ति र व्यवस्था दुवैको नै परिवर्तनका सूत्र र कार्यक्रम निहित छन् ।’