त्रिविद्वारा दीक्षान्तकै दिन गिनिजमा दुई रेकर्ड दर्ता



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले एकैपटक धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड हात पारेकै दिन गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत आवेदन दिएको छ।

गिनिजले दीक्षान्त समारोहको सबै विवरण पेस गर्न आग्रह गरेपछि सोही दिन सबै विवरण पेस गरेको हो। त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशीले दुईवटा विश्व रेकर्डको प्रमाणपत्र पाएसँगै गिनिजलाई पनि सबै डकुमेन्ट हस्तान्तरण गरेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘गिनिजलाई हामीले विश्वविद्यालयमा दीक्षित हुने विद्यार्थी संख्या, दीक्षान्त समारोहको अडियो र भिडियो, सहभागी भएका प्रमुख अतिथि, अतिथि, अभिभावकको विवरण, कार्यक्रम स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको क्षमतालगायतका विषयका सबै विवरण पेस गरेका छौं । गिनिजले सबै विषयमा रेकर्ड राखिसकेको छ । सायद एक महिनामा निर्णय गर्नेछ।’

गिनिजबाहेक सोमबार सम्पन्न ४९औं दीक्षान्त समारोहमा प्राप्त बेलायतमा मुख्यालय रहेको अफिसियल वल्र्ड रेकर्ड र वल्र्ड बुक अफ रेकर्ड गरी दुईवटा विश्व कीर्तिमान नेपालको त्रिभुवन विश्वविद्यालयले प्राप्त गरेको छ । केन्द्रका कार्यकारी निर्देशक जोशीले यो विश्व रेकर्डले त्रिविको नाम विश्वभर फैलिएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘जसले जेजस्तो प्रतिक्रिया दिए पनि त्रिविले दीक्षान्त समारोहमा एकैपटक महिलासहित २६ हजार अभिभावक, अतिथि र विद्यार्थीको उपस्थिति गराएकोमा प्रमाणपत्र पाएका हौं ।’ मंगलबार सामाजिक सञ्जालमा त्रिविले प्राप्त गरेको प्रमाणपत्रमा विभिन्न टीकाटिप्पणी भएको थियो ।

कार्यकारी निर्देशक जोशीले एकैपटक सबैभन्दा धेरै संख्यामा दीक्षित, ५४ प्रतिशत महिला सहभागी, सबैभन्दा बढी विद्यार्थी, अभिभावक सहभागी भएपछि दुई निकायले विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र दिएको हो । दुवै प्रमाणपत्र विश्व रेकर्ड कायम गरेपछि दीक्षान्त स्थलमै प्रदान गरेको थियो।

‘८ जनाले दीक्षान्त समारोहलाई प्रत्यक्ष अवलोकन गर्नुभयो, पाँचवटा मापदण्ड पूरा भएको रेकर्ड कायम भएपछि प्रतिनिधिले कुलपति उपकुलपतिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो’ –कार्यकारी निर्देशक जोशीको भनाइ थियो।

समारोहमा ७३ हजार ६ सय विद्यार्थी दीक्षित भए पनि प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी १२ हजार ४ सय १५ मात्रै थिए । त्रिविले २५ वर्षमा १ लाख २ हजार अन्तर्राष्ट्रिय अनुसन्धान जर्नल प्रकाशित गरिसकेको छ।

हाल करिब १ हजार १ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले ३ सय ४० एकेडेमिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । २०१६ सालमा स्थापित सो विश्वविद्यालयमा हाल ४ लाख ८२ हजार ५ सय ४१ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ५२ प्रतिशत छात्रा छन् । यी सबै विवरण विश्व रेकर्डका लागि उपलब्ध गराएपछि मूल्याङ्कन गरेको प्रमाणपत्र हात परेको हो ।

‘विश्व रेकर्डमा दर्तादेखि अनुसन्धान गरी प्रतिनिधिलाई व्यवस्थापन गर्न करिब ५ हजार युरो अर्थात् ८ लाख रुपियाँ खर्च लागेको छ। विश्वविद्यालय भएका कारण हामीलाई केही शुल्क मिनाहा गरेको हो, नत्र करिब ७ हजार युरो खर्च हुने थियो’ –निर्देशक जोशीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्