व्यवहारिक शिक्षाको अभावमा विद्यार्थीहरु पलायन : प्रदेश प्रमुख शेरचन

0
Shares

बुटवल। 

बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको ७० औं बार्षिकउत्सवका अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी रुपमा सम्पन्न भएको सो बार्षिकउत्सव मुल समारोह कार्यक्रममा बोल्ने बक्ताहरुले कान्ति माविले शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको कान्ति माविको वार्षिक उत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सिपमूलक र व्यवहारिक शिक्षाको अभावमा बिद्यार्थीहरु पलायन हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे । समय सुहाउदो र पछिल्लो पुस्ताको माग अनुसारको शिक्षा प्रदान गर्न नसक्दा युवा पुस्ताले आफ्नो आवश्यक्ता र चाहना अनुसारको अवसरको खोजीमा देश विदेशका गल्लीहरुमा भौँतारिनु पर्ने अवस्था आएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले शिक्षा क्षेत्रको विकास बिना समग्र समाजको विकास हुन नसक्ने भन्दै आधुनिक, बैज्ञानिक र जिवन उपयोगी शिक्षाका लागि सामुदायिक बिद्यालयहरुले जोड दिनुपर्ने बताए । बिद्यालयका अध्यक्ष हेमानन्द शर्माले गुणस्तरीय, सिपमूलक र व्यवहारिक शिक्षा प्रदान गर्ने बिद्यालयहरुलाई प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने बताउँदै विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गरे ।

बिद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले कान्ति माविलाई बिशिष्टिकृत शैक्षिक संस्थाका रुपमा विकास गर्दै बिद्यार्थीहरुलाई गुणस्तरीय, सिपमूलक र व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष रहेको बताए । कार्यक्रममा बिद्यालय पूर्व अध्यक्ष टंक पराजुली, बुटवल उपमहानगरका निमित्त कार्यालय प्रमुख मित्रमणी खनाल, अभिभावक संघका लोकनाथ ज्ञवाली, बिद्यालयका सहायक प्राचार्य पुर्णभद्र उपाध्याय, शिक्षकहरु महेश खनाल, हेमराज खनाल लगायतले कान्ति माविले शैक्षिक क्षेत्रको विकासमा पुराएको योगदानको चर्चा गरेका थिए ।

वार्षिक उत्सव समारोहमा विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने ७८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो भने शिक्षा क्षेत्रको विकासमा संचार क्षेत्रबाट उत्कृष्ट योगदान पुराएको भन्दै राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाललाई उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको थियो ।