कार्यालयकाे फोहरमैला आफैं व्यवस्थापन गर्न महानगरकाे आग्रह

0
Shares

काठमाडौं । 

काठमाडाैं नगरपालिकाले  फोहरमैला आफैं व्यवस्थापन गर्न आग्रह गरेकाे छ  । फोहरमैला व्यवस्थापन गर्नु हरेक व्यक्ति तथा निकायको कानूनी दायित्व रहेको महानगरले जनाएको छ ।

 महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहरमैला सिङ्गो सहरको सुन्दरतामा नै कमी आएको देखिने जनाएकाे छ ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा नियमावली, २०७० को कानूनी व्यवस्था तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७७ बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरुले आफ्नो परिसरको फोहरमैला आफैं व्यवस्थापन गरी सहरलाई सफा राख्न सहयोग गर्न महानगरले आग्रह गरेको छ ।

वातारणमैत्री स्थानीय शासन प्रारुपको परिच्छेद ६ बमोजिम प्रत्येक सार्वजनिक कार्यालयहरुले वातावरणमैत्री सार्वजनिक कार्यालयका प्रमुख सूचकहरु बमोजिम आफ्नो कार्यालयहरुमा व्यवस्था गर्न हुन् पनि अनुरोध छ ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाबाट महानगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा सार्वजनिक निकाय र सो को परिसर भित्र फोहरमैलाको अवस्था अनुगमन गर्ने कार्यक्रम रहेको र सो अवस्थामा कानून विपरित भएको देखिएमा प्रचलित कानून बमोजिम जरिवाना गरिने तथा फोहरमैला व्यवस्थापनमा लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ  ।