नक्कली सवारी दर्ता किताव बनाउने दुई जना गाडिसहित पक्राउ

0
Shares

काठमाडौं ।

नक्कली सवारी दर्ता किताव बनाउने दुई जनालाई गाडिसहित प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न स्थानबाट उनीहरूलाई यही शनिबार पक्राउ गरेर हिरासतमा लिएको हो।

पछिल्लो समय काठमाडौँमा केही व्यक्तीहरुले लिखत किर्ते गरी सवारी दर्ता किताव लगायतका कागजात तयार गरेको सूचनाका आधारमा कार्यालयको टोली सक्रिय भएको थियो।लिखत किर्ते गर्ने गरेको सूचना आएपछि कार्यालयले उनीहरूको खोजतलास थालेको थियो। कार्यालयको टोलीले यही शनिबार साँझ काठमाडौंको कलंकीसहितका स्थानबाट गिरोहका सदस्यहरूलाई पक्राउ गरेको हो।

प्रहरीले कालिमाटीबाट काभ्रेको तेमाल घर भएका ४२ वर्षीय दिलबहादुर घिसिङ, कागेश्वरी मनोहर नगरपालिका-१३ ब्रम्हटोलबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ का ३३ वर्षीय आइतसिंह तामाङ पक्राउ परेका हुन्।

उनीहरूलाई लिखत किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयका एसपी एवम् प्रवक्ता मिलन केसीले बताए। उनीहरूको साथबाट भन्सार चोरीपैठारी गरी ल्याएका सवारी साधनहरू समेत बरामद भएका छन्। प्रहरीले विभिन्न नम्बर प्लेटका ५ वटा कार पनि बरामद गरेको छ। कारसँगै केही थान ब्लु बुक पनि बरामद भएको केसीले बताए। उनीहरूबाट विभिन्न सरकारी कार्यालयका छाप र लेटरप्याड पनि बरामद भएका केसीले जानकारी दिए।