काभ्रेको खानिखोला नक्कली नोट कारोबारको ‘ट्रान्जिट’, कारोबारीले दिए वडा अध्यक्षलाई धम्की

0
Shares

काभ्रे  ।

स्थानीय जात्रामा नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्यहरू मध्ये केहीको पहिचान भएसँगै स्थानीयहरूले कारवाहीको माग गरे पछि वडा अध्यक्षलाई धम्की दिइएको छ । धम्की दिनेमा खानी खोला गाउँपालिका ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य सुरेश पुलामी छन् । मकवानपुरसँग जोडिएको खानि खोला नक्कली नोट तथा अवैध कारोबारको ट्रान्जिट बन्न लागेको स्थानीयहरूले बताएका छन् । प्रहरीको सक्रियता नहुँदा तस्करी र नक्कली नोटको कारोबार एक वर्ष देखि फस्टाउँदै गएको छ ।

‘समाचार किन सार्वजनिक गरेको ? गाउँका कुरा किन गाउँमै बसेर नमिलाएको भन्दै मलाई फोन मार्फत वडा सदस्य सुरेश पुलामी लगायतका स्थानीय केही राजनीतिक दलका नेताहरूले धम्की दिएका छन्’– वडा अध्यक्ष रामबहादुर मोक्तानले भने–‘राष्ट्रघाती काम गर्नेहरूले दिएको धम्कीबाट डराउँदिन । न्यायका लागि प्रहरी प्रशासन र न्यायालय जानेछु ।नागरिकहरूलाई लुट्ने, राष्ट्रघाती काम गर्नेहरू जनताका प्रतिनिधि समेत हुन सक्दैनन् ।’ नक्कली नोटको कारोबार गर्ने मध्येका पूर्व वडा अध्यक्ष समेत रहेका खानि खोला ७ का क्षेत्रमान घ्यावा, उनको सालो सोही वडाका सन्तलाल सिंतान, वडा सदस्य सुरेश पुलामी र वडा नम्बर ४ का मिलन जिम्बाको पहिचान भएको स्थानीयहरूले बताएका छन् ।

पहिचान खुलेसँगै राजनीतिक रूपमा संरक्षण गर्न तथा गाउँका कुरा गाउँमै बसेर मिलाउन वडा अध्यक्ष रामबहादुर मोक्तान सहितलाई हारगुहार गरिएको छ । ‘केही व्यक्तिहरू मलाई बचाउनु प¥यो, गाउँको कुरा गाउँमै बसेर मिलाउ भन्दै आउनु भएको छ’–वडा अध्यक्ष रामबहादुर मोक्तानले भने–‘नक्कली नोटको कारोबार कुनै सामान्य घटना नभएकाले मिलापत्र अर्थात् सामसुम पार्न सम्भव छैन । कानुन अनुसार हुने कारबाहीमा मेरो समन्वय हुन्छ भनेर पठाई दिएँ ।’ प्रहरी प्रमुख एसपी भागेन्द्र पुरुष ढकालले घटनाका बारेमा सूचना प्राप्त भएकाले प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताए ।

खानी खोला गाउँपालिका वडा नम्बर ७ मा २०८० मंसिर २४ गते भएको धार्मिक तथा सांस्कृतिक कार्यक्रम तथा स्थानीय परम्परा अनुसार लाग्ने पशुपति जात्रा मेलामा सञ्चालन भएका चिया पसल, किराना पसल, तथा खुद्रा व्यापार व्यवसाय गरी स्थानीय उत्पादनबाट जीविका चलाउने आशा बोकेर स्थानीय किसानहरूले गरेको कारोबारमा नक्कली नोटको कारोबार भएको थियो । जात्रामा फेला परेका नक्कली नोटहरू वडा सदस्य समेत रहेका खानी खोला गाउँपालिकाका न्यायिक समिति सदस्य सुरेश पुलामीले सङ्कलन गरेका थिए ।

संकलित नोटहरू नेपाली काँग्रेसका वडा समिति सभापति समेत रहेका पूर्व वडा अध्यक्ष क्षेत्रमान घ्यावालाई बुझाएका थिए । घ्यावाले गाउँपालिका अध्यक्ष इन्द्र थिङलाई बुझाउँछु भन्दै बनेपा आएको स्थानीयहरूले बताएका छन् । राति १० बजेतिर नक्कली नोटको कारोबार गरिरहेका वडा नम्बर ४ का मिलन जिम्बालाई स्थानीय जात्रा व्यवस्थापन समितिका सदस्यहरूले नियन्त्रणमा लिएका थिए । वडा सदस्य समेत रहेका सुरेश पुलामी सांस्कृतिक कार्यक्रममा आसन र भाषण समेत गर्न नगई जात्रामा लंगुरबुर्जा खेलाएर बसेका थिए ।

त्यहि लङ्गुर बुर्जामा समेत नक्कली नोटको कारोबार भएको थियो । उनी यस अघि तासको खालमा बसेको तस्बिर सार्वजनिक भएको थियो । अझै सुरेश पुलामीको घरमा भएको हतियार विना इजाजतको हो । उनले सोही हतियार बोकेर खिचेको तस्बिर सार्वजनिक भएको छ । उनै पुलामीले मिलन जिम्बालाई लिएर क्षेत्रमानलाई बुझाएका थिए ।

सोही राति मिलनले एक हजारको नक्कली नोट तत्काली फिर्ता लिएका थिए । यस अघि आयोजित हरिवोधनी एकादशीमा लागेको मिल्चेको जात्रामा पनि नक्कली नोटको कारोबार भएको बताइएको छ । मसिंर ७ गते उक्त जात्रा लागेको थियो । त्यहाँ पनि केही थान हजारका नोट फेला परे पछि च्यातेर फालेका थिए । स्थानीय तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका समयमा पनि यस्ता नोटहरूको कारोबार भएको स्थानीयले बताए । मसिंर २४ गते राति विक्री गरिएका केही नोट धेरै पुराना छन् ।

आधा पैसा फिर्ता 

‘वडा सदस्य समेत रहेका सुरेश पुलामीले नक्कली नोटको दोब्बर रकम फिर्ता गरे’–स्थानीय ब्यवसायीले भने– ‘मंगलबार बिहान मसिंर २६ गते वडा सदस्य सुरेश पुलामी, क्षेत्रमान घ्यावा, सन्तलाल सिंतान लगायतले नक्कली हजारका नोटको प्रति हजार दुई हजारका दर फिर्ता गर्दै उक्त नोट फिर्ता लिएर गए । सुरेश नपुगेका स्थानमा क्षेत्रमानले आफन्त समेत पठाएर रकम फिर्ता लिएका छन् ।’

उनीहरूको संलग्नता थिएन भने नक्कली नोट फिर्ता लिँदै किन दोब्बर पैसा तिरे ? स्थानीयले प्रश्न गरेका छन् । स्थानीय जात्रामा सुन्तला, बदाम, चिया चाउचाउ, चुरोट, चना चटपट, पानी पुरी लगायतको व्यापार गरिएको थियो । अण्डा र चिया विक्री गरेर रातभर कुर्दा केही रकम कमाउन सकिने आशमा चिसोको सिरेटोमा बसेका स्थानीयहरूलाई सुरेश पुलामी, सन्तलाल सिंतान सहितका व्यक्तिहरूले ल्याएको नक्कली नोट उपलब्ध गराइएको थियो । उनीहरूले कहाँबाट त्यति धेरै परिणाममा नक्कली नोट ल्याए खुल्न सकेको छैन ।

घटना सामसुम पार्न स्थानीय वडाका जनप्रतिनिधिहरू, भद्र भलादमीहरूको मंगलबार भेला आयोजना गरिएको थियो । वडा अध्यक्ष रामबहादुर मोक्तानले नक्कली नोटको कारोबारमा छलफल नहुने भन्दै उठेर हिँडेपछि पूर्व वडा अध्यक्ष समेत रहेका क्षेत्रमान घ्यावा, वडा सदस्य सुरेश पुलामी र सन्तलाल सिंतानले मसिंर २४ गते राति कारोबार भएको नक्कली नोट फिर्ता लिने र सोही रकम बराबर दोब्बर रकम दिने निर्णय गरेका थिए । सोही निर्णय बमोजिम मंगलबार नै स्थानीय चनमती दर्लामीलाई ३ हजारको ६ हजार उपलब्ध गराइएको छ भने च्यासे मगरको अण्डा र चिया पसलमा १ हजारको नोटको दुई हजार फिर्ता गरिएको छ । केहिले भने आफ्नो साँवा बाहेक थप रकम लिन चाहेनन् ।

आफन्तले नै नक्कली नोटको कारोबार गरेर ठगी गरेको सूचना पछि मध्यरातमा खैलाबैला भएको थियो । स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिए पनि भाग्न सफल भएका थिए । रत्नबहादुर मोक्तानले एक हजारको दुई हजार पाएका छन् । नक्कली नोटको कारोबारमा गिरोह नै संलग्नको आंशका गरिएको छ । करिब २५ हजार भन्दा धेरै नक्कली नोट कारोबार भएको आशंका गरिएको छ । गिरोहका सदस्यहरूले सुरुमा आफै र पछि बच्चाहरू मार्फत उक्त नोटको कारोबार गराएका थिए । थोरैको सामान किनेर हजारको नोट दिएर सामान पनि पैसा पनि ठगेर हिडेको चार घण्टा पछि मात्रै स्थानीयले थाहा पाएका थिए । स्थानीय व्यवसायीहरूले हजारको नोट (ठुलो नोट) भन्दै अलग्गै राखेकाले कसले दिएको हो सहजै पहिचान भएको बताइएको छ ।

 वडा अध्यक्ष रामबहादुर मोक्तानले मसिंर २५ गते नै सामाजिक सञ्जाल मार्फत नक्कली नोटको कारोवारबाट स्थानीयहरू ठगिएको बताउँदै सचेत रहन र नक्कली नोटको कारोबार गर्नेहरूलाई तत्कालै कानुनी कारबाही गर्न माग गरेका थिए । वडा अध्यक्षको तर्फबाट अर्को विज्ञप्ति जारी भएको छ–‘खानी खोला गाउँपालिका वडा नम्बर ७ मा मंसिर २४ गते भएको धार्मिक तथा सांस्कृतिक कार्यक्रम तथा स्थानीय परम्परा अनुसार लाग्ने पशुपति जात्रा मेलामा सञ्चालन भएका चिया पसल, किराना पसल, तथा खुद्रा व्यापार व्यवसाय गरी स्थानीय उत्पादनबाट जीविका चलाउने आशा बोकेर स्थानीयहरूले गरेको कारोबारहरूमा केही व्यक्तिहरू सामेल भई जानी जानी आर्थिक हानी पुर्‍याउन प्रत्यक्ष संलग्नता रहने गरी कानुनले बर्जित गरेको मुलुकी अपराध (संहिता) २०७४ तथा अन्य प्रचलित कानुन आकर्षण हुने नक्कली नोट कारोबार गरेको देखिन आएको पर्याप्त प्रमाणहरू फेला परेको हुनाले उक्त जात्रा वा अन्य कुनै वाहानामा यस वडा भित्र भए गरेको कारोबार र हुनसक्ने र भइरहेको कारोबारहरूमा चनाखो भई कारोबार गर्नुहुन र यदि त्यस्ता नक्कली नोट कोही कसैले दिएको भए सुरक्षित गरी नजिकैको प्रहरी चौकी वा स्थानीय प्रशासनमा लिखित उजुरी दिई असल सभ्य नागरिकको परिचय दिनुहुन र भावी दिनमा हुन सक्ने दुर्घटनाहरूबाट बच्न त्यस्ता कारोबारीलाई निरुत्साहित पार्न कसैको धाक धम्की, प्रलोभन वा जुनसुकै तरहको दबाबमा नपरी समग्र वडाबासीहरु, स्थानीय भद्रभलाद्मी र सचेत नागरिकहरूमा वडा मार्फत वा स्थानीय प्रशासन मार्फत कानुनी दायरामा ल्याउन सहयोग गर्न अपिल गरिन्छ ।’