वर्षाको पानी उपयोग तथा व्यवस्थापनसम्बन्धी क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

84
Shares

काठमाडौं ।

आगामी चैत्र ४ र ५ गते काठमाडौंमा वर्षाको पानीको उपयोग र व्यवस्थापन विषयक दुई दिने क्षेत्रीय सम्मेलनको आयोजना हुँदैछ ।

गोष्ठीको प्रमुख आयोजक संस्था स्मार्ट वास सोलुसनले शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उक्त जानकारी दिइएको हो । स्मार्ट वास सोलुसनका अध्यक्ष ई.रामदीप साहले उक्त क्षेत्रिय सम्मेलनमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत दक्षिण एशियाली क्षेत्रका राष्ट्रहरुको सहभागिता रहने जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनमा नेपालका २ सय र अन्तरराष्ट्रिय स्तरका २५ जना पानी विशेषज्ञ, व्यवसायी तथा सरकारी अधिकारीहरुगरी २ सय ५० देखि ३ सय जनासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ।

पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साहको अध्यक्षतामा सम्पन्न सो अन्तक्रिया कार्यक्रममा वक्ताहरुले आगामी सन् २०५० तिर विश्वका करीव पांच अर्व ७० करोड जनताले वर्षभरिमा कम्तिमा एक महिना खानेपानीको अभाव व्यहोर्नपर्ने कुरा औंल्याएका छन् ।

तसर्थ खानेपानीको समस्याको दीगो समाधानको निम्ति वर्षाको पानीलाई प्रशोधित गरेर त्यसको उचित व्यवस्थापन तथा उपयोग गर्नुको विकल्प नरहेको कुरा सो कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् ।

वर्षाको पानी उपयोग तथा व्यवस्थापनमा संलग्न विशेषज्ञहरु, प्राज्ञहरु, अनुसन्धानकर्ता, व्यवसायी तथा सरकारी प्रतिनिधिहरुलाई एकै छाता मुनि ल्याउनु र वर्षाको पानी व्यवस्थापनका चुनौति तथा सम्भावनाहरुबारे छलफल गरी अनुभव, ज्ञान तथा प्रविधि साटासाट गर्नु सो सम्मेलनको प्रमुख उद्देश्य रहेको बताइएको छ।

सो सम्मेलनमा वर्षाको पानीको व्यवस्थापन तथा प्रयोगसम्बन्धी नीति तथा नियम, कानून निर्माण, जलवायुपरिवर्तका असर न्यूनीकरण, खोजपूर्ण तथा नवीन प्रविधिको प्रयोग, खानेपानीको गुणस्तर तथा जनस्वास्थ्य, साझेदारी तथा सहकार्य सम्बन्धमा विभिन्न विशेषज्ञहरुद्वारा छुट्टाछुट्टै कार्यपत्रहरु पेश गरिने बताइएको छ ।