गणतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन: माधव नेपाल

0
Shares

दोलखा  ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनु भएको छ ।

शनिवार नेकपा एकीकृत समाजवादी दोलखाको १० औ जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपालले भन्नु भयो– एकथरी मानिसले संवैधानिक राजतन्त्रको कुरा उठाएका छन्, त्यो अधिकार अहिले राष्ट्रपतिलाई दिइएको छ, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।

पूर्व प्रधानमन्त्री नेपालले भन्नु भयो– गणतन्त्रको कमी कमजाेरी हुनसक्ने, त्यसबारे छलफल गरेर सुधार गर्नुपर्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र बारे सोच्न सकिदैन् । पूर्व राजालाई राजनीति गर्न मन भए चुनावमा प्रतिस्पर्धा गरेर प्रधानमन्त्री बन्न नेपालले चुनौती दिनुभयो । उहाँले भन्नु भयो– अहिलेको परिवेशमा एकल पार्टी सिस्टमको बारेमा सोच्न सकिँदैन, सबै प्रतिस्पर्धात्मक आउनु पर्छ ।

पूर्व प्रधानमन्त्री नेपालले कोरोना महामारी पछि सिंगो मुलुकको अर्थतन्त्र बिग्रिएको उल्लेख गर्नुहुँदै राजनीतिक दलहरूले नेपाली जनतालाई कसरी सुखी बनाउने, कसरी समृद्ध बनाउने भन्ने बारे खाका बनाउनु पर्ने बताउनु भयो । उहाँले अपराधी, भ्रष्टाचारीहरू लाई संरक्षण गर्ने राजनीतिक दल जनताबाट अलग्गिने समेत बताउनु भयो । अहिलेको निर्वाचन प्रणाली गलत भएकोले दलहरु कसरी निर्वाचन जित्ने भन्नु कुरामै केन्द्रित हुने गरेको समेत बताउनु भयो ।

नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीमप्रसाद दालको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, संघिय सांसद गंगा कार्की, बागमती प्रदेशका सांसद कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जूराम घतानी, नेपाली कांग्रेसका केशव चौलागाई, नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी, नेकपा एकीकृत समाजवादी दोलखाका सचिव अशोक दहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।