परराष्ट्रले ७२ वर्षमा पायो पहिलो महिला सचिव



काठमाडौं ।

परराष्ट्र मन्त्रालयले ७२ वर्षे लामो इतिहासमा पहिलो पटक महिला सचिव पाएको छ। बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ।

सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माका अनुसार मन्त्रीपरिषद्को बैठकले सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सन् १९४८ मा पहिलो परराष्ट्र सचिव सरदार नरेन्द्रमणि आचार्य दीक्षितदेखि निवर्तमान परराष्ट्र सचिव भरतराज पौड्यालसम्ममा २४ जना सचिवले परराष्ट्रको प्रशासनिक कमाण्ड सम्हालेका थिए।

सचिव लम्साल भने २५औँ सचिवका रूपमा पहिलो महिला सचिव हुनुभएको हो। सचिवमा बढुवा भएसँगै लम्सालले परराष्ट्र मन्त्रालयअन्तर्गतका ३ सय ५८ जना कर्मचारीको नेतृत्व गर्नुहुने भएको छ।

मन्त्रालयका सचिव भरतराज पौड्याल अनिवार्य अवकाश भई राजदूतमा सिफारिस भएसँगै गत साता रिक्त भएको मन्त्रालयको सचिव पदमा सहसचिव लम्सालको मात्र एकल नाम सिफारिस भएको थियो।

गत शुक्रबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त सचिव पदमा सहसचिव लम्सालको नाम सिफारिस गरेको थियो।यसअघि नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाह मन्त्रालयको ‘अतिरिक्त सचिव’सम्म बन्नुभएको इतिहास छ। २०४९ सालमा ल्याइएको निजामती सेवामा ३० वर्षे उमेर हदका कारण सचिव बन्नै नपाई शाहले अवकाश पाउनुभएको थियो ।

२०५५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएकी लम्सालको सेवा अवधि २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको पदमा पुग्नुभएको छ। परराष्ट्रमा उपसचिव भई सेवा सुरु गर्नुभएकी लम्साल पासपोर्ट विभागबाट परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो।

२०७३ देखि २०७७ सालसम्म पाकिस्तानका लागि नेपाली राजदूत रहनुभएकी लम्सालले इरान, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान, टर्की र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी सम्हालीसक्नु भएको छ। उहाँ २०७७ सालमा नेपाल फर्किएपछि संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कानून विभागमा काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्