मानव तस्करीमा संलग्न गिरोहको पर्दाफास

अध्यागमन कार्यालयका अधिकृतलगायत ३२ जना पक्राउ

0
Shares

काठमाडौं ।

भिजिट भिसाको नाममा लामो समयदेखि मानव तस्करीमा संलग्न रहेका सरकारी कर्मचारी तथा एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीको कमान्डमा खटिएको प्रहरी टोलीले भिजिट भिसामा नेपाली नागरिकलाई मोटो रकम लिएर युद्धग्रस्त मुलुक रुस, युक्रेन, खाडीका विभिन्न मुलुक पठाउने गिरोहको पर्दाफास गरेको हो।

सो टोलीले अध्यागमन कार्यालयका अधिकृत, नेपाल वायुसेवा निगमका उच्च अधिकृत, ट्राभल एजेन्सीका सञ्चालक र एजेन्टहरू गरी ३२ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

नेपालमा रोजगारीको अभावका कारण छटपटिएका नेपाली युवायुवतीलाई प्रलोभनमा पारेर एजेन्टहरूले विभिन्न मुलुकमा भिजिट भिसामा लैजाने र उता काममा लगाइदिने भन्दै अलपत्र पार्ने क्रम बढ्दै गएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान शुरू गरेको थियो।

रुस–युक्रेन युद्ध शुरू भएपछि रूस सरकारले विदेशी नागरिकलाई रूसी सेनामा भर्ती गर्न थालेपछि नेपालमा पनि ट्राभल एजेन्टहरूले मोटो रकम लिएर नेपाली युवाहरूलाई भिजिट भिसामा रूस तथा युक्रेन पठाउँदै आएको फेला परेको प्रहरीले जानकारी दिएको छ।

गत असोज महिनादेखि एउटा समूहले अध्यागमनका कर्मचारी तथा नेपाल वायु सेवा निगमका कर्मचारीलाई प्रयोग गरेर नेपाली युवालाई भिजिट भिसामा रूस र युक्रेन पठाउँदै आएको प्रहरीले दाबी गरेको छ।

प्रहरीले गत असोज १५ गतेदेखि हालसम्म १ हजार ५ सय १३ थान कागजमध्ये २ सय ४६ थान कागज नक्कली देखिएपछि प्रहरीले यस विषयमा गम्भीर रूपमा छानविन शुरू गरेको सो कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

नक्कली कागजात तयार पारी गिरोहले नेपाली युवा युवतीलाई विभिन्न मुलुक पठाएको भन्ने सुराकीका आधारमा प्रहरीले छानबिन गर्दा ती अभियुक्तहरू पक्राउ परेका थिए।

गिरोहले १० जोड २ को शैक्षिक प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरीको चारित्रिक प्रमाणपत्र, बैंक स्टेटमेन्टसमेत नक्कली तयार पारी भिजिट भिसामा नेपाली नागरिकलाई विभिन्न देश पठाउँदै आएको खुलासा भएको पनि एसएसपी राठौरले जानकारी दिनुभयो।

सो गिरोहले अध्यागमन कार्यालय र विमानस्थलस्थित नेपाल वायुसेवा निगमका कर्मचारीलाई मिलाईदिएबापत एयरलाइन्सका कर्मचारीलाई प्रतिव्यक्ति १० देखि १५ हजार र अध्यागमनका कर्मचारीलाई ४० देखि ५५ हजार रुपियाँसम्म लिने गरेको पनि डीएसपी पन्थीले जानकारी दिनुभयो।

प्रहरीले अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायुसेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव र होम पोखरेललाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

सो काण्डमा संलग्न रहेका प्रहरी जवानद्वय आशिष श्रेष्ठ र जीवनराज तामाङ पनि संलग्न रहेका छन्। त्यसै गरी पूर्व प्रहरी कर्मचारी नारायाणमान गुरुङ, मनिष खड्का र ज्ञानेन्द्र खड्कालाई समेत पक्राउ गरी प्रहरीले कारबाही अघि बढाएको छ।

प्रहरीले अहिलेसम्म उक्त काण्डमा संलग्न रहेको अभियोगमा साइरस विसंखे, अजित फेवानी, विपिन ढकाल, जयराम श्रेष्ठ, रमेश भन्ने भक्तबहादुर थापा, दीपक केसी, बलबहादुर रावत, भक्तबहादुर विष्टलगायतलाई पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार बिचौलियाहरूले ६ वटा ट्राभल एजेन्सीका सञ्चालक तथा एजेन्टहरूले प्रतिव्यक्ति ६ लाखदेखि १३ लाख रुपियाँ लिएर उनीहरूलाई विभिन्न देश पठाउने गरेको छ।

प्रहरीले गीता शाह, मुनराज चौधरी, अरुण दाहाल, सरोजकुमार यादव, दिनेश ज्ञवाली, रामप्रसाल भण्डारी, नवीन अर्याल, देवराज खनाल, सञ्जय तामाङ र राजकिशोर यादवलाई पनि पक्राउ गरी कारबाही अघि बढाएको छ।