दिक्तेलमा ओलीले गरे ज्येष्ठ नागरिकसँग भेट

0
Shares

खोटाङ । 

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा खोटाङ पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहानै ज्येष्ठ नागरिकसँग भेट गरेका छन्।

खोटाङ सदरमुकाम दिक्तेलमा अध्यक्ष ओलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र अन्तर्क्रिया गरेका हुन्। सो क्रममा ओलीले ज्येष्ठ नागरिकहरूका सल्लाह, सुझाव र गुनासो सुनेका थिए। उनीहरूले नेकपा एमाले र ओलीलाई विभिन्न सुझाव दिए।

ज्येष्ठ नागरिकसँगको अन्तर्क्रिया पछि एमालेको अभियान खोटाङबाट अघि बढेको छ। यात्रा खोटाङबाट भोजपुर तर्फ लागेको छ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि सङ्कल्प यात्रामा रहेका छन्।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।