एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पुष्पलालको जन्मथलो रामेछाप आइपुग्दै



रामेछाप ।

नेकपा एमालेले गत मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि सङ्कल्प यात्रा आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप आइपुग्दै छ।

झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा आज साँझ रामेछाप आइपुग्न लागेको हो। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको अभियान मङ्सिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट सुरु भएको थियो।

सङ्कल्प यात्राको टोली आज रामेछापको लागि काभ्रेको धुलिखेलबाट हिँडेको छ। धुलिखेलबाट सुरु भएको यात्रा सिन्धुपाल्चोक, दोलखा हुँदै साँझ रामेछापको सदरमुकाम मन्थली आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए।

आज दोलखाको चरिकोटमा दिउँसो सभा राखिएको छ। सो सभा सकेर अध्यक्ष ओली लगायतको टोली मन्थली आउने सोमबार बिहान पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिए।  श्रेष्ठका अनुसार आज साँझ मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको छ।

विभिन्न सांस्कृतिक कार्यक्रम सहितको सभा अपराह्न चार बजेबाट सुरु हुने छ। अभियानको टोलीलाई स्वागत गर्न जिल्लका नेताहरू रामेछाप र दोलखाको सिमाना मिल्ती खोला पुग्ने कार्यक्रम रहेको छ। त्यहाँबाट आएको टोलीलाई रामेछापको खिम्तीमा स्वागत कार्यक्रम राखिएको श्रेष्ठले जानकारी दिए।

बेलुकाको बास मन्थलीमा नै हुने छ। यस पटक केन्द्रीय नेताहरूलाई सकेसम्म नेता कार्यकर्ताकै घरमा बास राख्ने योजना बनाइ सोही अनुसारको तयारी गरिएको श्रेष्ठले बताए।

‘अटेसम्म नेता, कार्यकर्ताको घरमा बास राख्छौँ, नअटेकालाई मात्र होटेलमा राख्ने व्यवस्था मिलाएका छौँ, यसबाट नेता, कार्यकर्ता बिचको सामिप्यता बढ्ने विश्वास लिएका छौँ’, श्रेष्ठले भने।

मंगलबार बिहान भने सर्वदलीय र सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम राखिएको छ। मन्थलीको अन्तरक्रिया सकेर टोली सिन्धुलीको खुर्कोट हुँदै घुर्मी प्रस्थान गर्ने छ। मंगलबार घुर्मीमा सभा राखिएको छ। त्यस पछि अभियान कोशी प्रदेश तर्फ अघि बढ्ने छ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली  समृद्धिको लागि सङ्कल्प यात्रामा रहेको छ।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्