स्वर्गीय पुष्परत्नले जिते सम्मान स्वर्ण

0
Shares

काठमाडौं ।

ललितपुरमा जारी पाँचौं ललितपुर महानगरपालिका मेयर कप रात्रिकालीन टेबलटेनिस प्रतियोगितामा स्वर्गीय भएका पुष्परत्न शाक्यले सम्मान स्वर्णपदक जितेका छन्।

स्वर्गीय भइसकेकाले पनि कसरी स्वर्ण पदक जित्ल सक्लान् त भन्ने कुरा सुन्दा अचम्म लागेपनि यो सत्य नै हो। यो प्रतियोगिता चलिरहंदा एउटा दुखद घटना घटेको थियो।

मूल आयोजक समितिका सचिवसमेत रहेका पुष्परत्न शाक्यको ४० वर्षमाथि इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेकै बेला हृदयघात भयो र कोर्टमै उनको निधन भयो। यो दुःखद् घटनापछि खेल एकहप्ता स्थगित भयो र फेरि शुरु गरियो।

संयोग के रह्यो भने उनै स्वर्गीय पुष्परत्न शाक्यले पुरुष टिम इभेन्ट्समा स्वर्ण जितेका थिए। वडा ११ बाट खेलिरहेका स्वर्गीय पुष्परत्नको नाम निधन हुनु अगाडि नै टिम इभेन्ट्सको सूचीमा दर्ता थियो।

त्यसपछि उनका टोलीका साथीहरूले पुष्परत्नको सम्मानस्वरूप वडा ११ को टोलीमा उनको नामलाई निरन्तरता दिने निर्णय गर्‍यो।

टोलीका साथीहरू नदिमरत्न शाक्य, राजेन्द्र बज्राचार्य र राजीव बज्राचार्यको टोलीले फाइनलमा वडा १६ का मुकेश धाँख्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि बज्राचार्यकोसँग प्रतिस्पर्धा गर्‍यो।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त फाइनलमा वडा ११ ले वडा १६ लाई ३–२ ले पराजित गर्न सफल भयो। जितपछिको भावुक माहोलमा टिमका सहयात्रीहरूले उक्त स्वर्ण स्वर्गीय पुष्परत्नप्रति समर्पित गरे।

टिमका एक साथी नदिम रत्न शाक्यले भने–“स्वर्गीय पुष्परत्नले स्वास्थ्यका लागि खेल्न निकै जरुरी छ भन्ने सन्देश दिएर जानुभएको छ। हामी यो स्वर्ण उहाँमा समर्पित गर्न चाहन्छौं।“ उक्त इभेन्ट्समा वडा १२ र वडा ९ तेश्रो भए ।

प्रतियोगिताका अन्य इभेन्ट्सहरूमा यु–१६ ब्वाइज सिंगल्समा वडा २० का इरिस शाक्यले स्वर्ण, वडा १८ का विशाल थापाले रजत तथा वडा ७ का मिजेन शाक्य र वडा १२ का सक्षम शाक्यले कांस्य जिते ।

उक्त स्पर्धाको गल्र्समा वडा ६ की अंकिता बज्राचार्य पहिलो, वडा ८ की सुरम्य शाक्य दोश्रो तथा वडा २० की युनिशा महर्जन र वडा १२ की इशान्भी महर्जनले कांस्य हात पारे।

यु–१२ ब्वाइज सिंगल्समा वडा १६ का रिजन शाक्यले स्वर्ण, वडा १६ का स्वर्णिम शाक्यले रजत तथा वडा १२ का अयानराज शाक्य र वडा ९ का निर्भान बज्राचार्यले कांस्य जिते।

सो स्पर्धाको गल्र्समा वडा १७ की अर्सना महर्जन पहिलो, वडा १६ की साइरा शाक्य दोश्रो तथा वडा १७ की अश्लेषा श्रेष्ठ र वडा १९ की निर्भी श्रेष्ठ तेश्रो बने।