पुष्पलाल मध्यपहाडी लोकमार्गको अहिलेको नक्सा परिवर्तन गर्नुपर्छ : शेरबहादुर तामाङ

0
Shares

काठमाडौं ।

नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले मध्यपहाडी लोकमार्गको अहिलेको नक्सा परिवर्तन गर्नुपर्ने बताएका छन्।

नेकपा एमालेलेका झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा आज रामेछाप प्रवेश गर्न लागेको सन्दर्भ पारी तामाङले पुष्पलालको जन्मथलो रामेछापको भँगेरी हुँदै सो सडक लैजानु पर्ने प्रस्ताव राखेका हुन्।

‘मध्यपहाडी पुष्पलाल लोकमार्ग नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको नामबाट नामाकरण भएकोले वहाँको जन्मस्थल रामेछाप भँगेरी भएर लैजानु पर्छ’ उनले भने।

मन्थली–रामेछाप भँगेरी–साँघुटार–ओखलढुङ्गा–रुम्जाटार–दुधकोशी–लामिडाँडा–बिजुलीभन्ज्याङ–दिक्तेल हुँदै सो सडक लैजानु पर्ने तामाङको सुझाव छ।

अहिले मध्यपहाडी लोकमार्गले पुष्पलालको जन्मथलो भँगेरी छुँदैन। सो लोकमार्ग रामेछापको खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकाको त्रिवेणीबाट सिन्धुलीको खुर्कोट हुँदै घुर्मीबाट दिक्तेल तर्फ लाग्छ।

रामेछापवासीले सो लोकमार्ग काभ्रेबाट चौँरीखोला तारेर रामेछापको गाल्पा भञ्ज्याङ हुँदै मन्थली निकालेर भँगेरीबाट लैजानु पर्ने माग गर्दै आएका छन्।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली समृद्धिको लागि सङ्कल्प यात्रामा रहेको छ।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ। सो सन्दर्भमा आज मन्थली आइपुग्नु हुने नेतृत्वलाई पनि सो विषयमा अवगत गराउने तयारी नेकपा एमालेले गरिरहेको छ।