प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ मंसिर २९ गते

0
Shares

काठमाडौं ।

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ आगामी मंसिर २९ गते हुने भएको छ। आइतबार बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँग समितिले छलफल गरेपछि सुनुवाइको मिति यही मंसिर २९ गते तय गरेको हो।

समितिले उजुरीकर्तासँग उजुरी गर्नुको कारण र आधार मागेको थियो। सिफारिस गरिएका न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्न समितिले दिएको १० दिनको अवधिमा १० वटा उजुरी परेको हो।

न्यायपरिषद्ले गत मंगलबार सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश पदमा ६ जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा परेका न्यायाधीशमा शारंगा सुवेदीको नाउँमा ६, अब्दुल अजित मुसलमानको नाउँमा १ र टेकप्रसाद ढुंगानाका नाउँमा ३ वटा उजुरी परेको समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिनुभयो।

महेश शर्मा पौडेल, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाउँमा एउटा पनि उजुरी परेको छैन। न्यायाधीशमा सिफारिसमध्ये उच्च अदालतको न्यायाधीशमा कार्यरत ४ जना छन् भने २ जना कानुन व्यवसायी हुन्।

प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्तिका लागि प्रस्तावित गरिएका नामको सम्बन्धमा संविधानको धारा २८२ बमोजिम सुुनुवाइका लागि संसदीय सुनुवाइ समिति रहने प्रावधान रहेको छ।

समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनित गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रिय सभाको सहमति लिई अध्यक्षले मनोनित गरेका तीन जना गरी जम्मा १५ सदस्यीय रहने छ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।