इङ्ल्याण्डलाई हराउँदै वेस्टइण्डिजले जित्यो सिरिज



काठमाडौं । वेस्टइण्डिजले इङ्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ। आइतबार बिहान सम्पन्न खेलमा वेस्टइण्डिजले इङल्याण्डलाई तेस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो।

वर्षाले प्रभावित गरेपछि खेल शुरुमा ४०-४० ओभरको खेलाइएको थियो। जस अनुसार इङल्याण्डले पहिला ब्याटिङ गर्दै ४० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो।

४० ओभरमा २०७ रनको लक्ष्य पाएको वेस्टइण्डिजले ३१.४ ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएपछि खेल पुनः वर्षाले प्रभावित भएको थियो। त्यसपछि वेस्टइण्डिजले ३४ ओभरमा १८८ रनको नयाँ लक्ष्य पाएको थियो।

यसरी वेस्टइण्डिजले खेल ४ विकेटले जितेको थियो। यस अघि वेस्टइण्डिजले पहिलो खेल पनि ४ विकेटले जितेको थियो भने इङल्याण्डले दोस्रो खेल ६ विकेटले जितेको थियो।

एकदिवसीय सिरिज २-१ ले जितेपछि अब दुवै देशले ५ खेलको टी -२० सिरिज खेल्दै छन्। टी- २० सिरिजको पहिलो खेल बुधबारदेखि शुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस्