प्रचण्ड सरकार भ्रष्टाचारमा डुब्यो : ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार भ्रष्टाचार र सुन तस्करी काण्डमा डुबेको आरोप लगाएका छन्।

नुवाकोटको बट्टारमा गएराति आयोजित एमालेको सभालाई सम्बोधन गर्दै ओलीले सकारको संलग्नता बिना एयरपोर्टबाट ३५ टन सुन छिर्न नसक्ने  बताए।

‘सरकारको मिलेमतो मात्र होइन, सरकारी क्रियाकलापको अङ्ग बनाएर सुन छिराइएको छ, त्यहाँका कर्मचारीलाई संलग्न बनाएर गरिएको छ’उनले भने।

अहिले एनसीएल कम्पनी प्रकरणमा ठुला आर्थिक अपराधको काम भइरहेको ओलीले बताए। २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले सो कुरा छल्नलाई कम्पनी अर्कालाई बेचेको नाटक गरिएको ओलीको भनाइ थियो। कमिसनको खेल बन्द गर्न ओलीले सरकारलाई चेतावनी दिए।

‘खर्बौको कारोबार अर्बमा देखाएर अत्यन्तै अपराधपूर्ण काम भएको छ’, ओलीले चेतावनी दिँदै भने, ‘नेकपा एमालेको तर्फबाट र जनताको तर्फबाट म सरकारलाई खबरदारी गर्न चाहन्छु कि देशलाई कङ्गाल बनाएर केही मानिसहरूले ढुकुटी भर्ने कमिसनतन्त्रको खेल बन्द गर । यो कमिसनको खेल सुन्न र सहन अब जनता तयार छैनन्।’

वर्तमान गठबन्धन सरकार निकम्मा भएकोले सरकारमा बस्ने हैसियत नरहेको उनले बताए। ‘यो सरकार अब देशको लागि अफाप सिद्ध भइसक्यो, सो सरकारलाई सत्तामा बस्ने अधिकार नै छैन’, उनले भने। उनले एमाले नेतृत्वको सरकारले उत्तरको छिमेकी चीनसँग मिलेर विकासका काम गरे पनि अहिलेको सरकार सम्बन्ध राख्न पनि डराउने गरेको बताए।

‘हामीले पोखरा र भैरहवा एयरपोर्ट बनायौँ यो सरकार त्यसलाई चलाउन सक्दैन, कसका डरले ? यस्तो हुतीहारा सरकार किन बस्छ शासनमा ? यसलाई सरकारमा बस्ने कुनै अधिकार छैन’, ओलीले भने, ‘नैतिकताको त के कुरा गर्नु।’

उनले अढाई वर्षअघि देशी विदेशी शक्ति मिलेर दुईतिहाइको सरकार ढालेपछि देश अधोगतिमा लागेको टिप्पणी गरे। एमालेलाई सरकारबाट हटाएकै कारण देशमा राजनीतिक अस्थिरता बढेको र अर्थतन्त्र धराशायी बनेको उनको आरोप छ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन्।

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्