सैबु व्याडमिन्टनमा ठकुरी र गुरुङको टीम विजयी

0
Shares

ललितपुर ।

सैबु व्याडमिन्टन सर्कलले आयोजन गरेको दोस्रो खुला ब्याटमिन्टन प्रतियोगितामा कालिका क्लबका श्याम ठकुरी र ओमकार गुरुङको टीम पहिलो भएको छ।

शनिबार सम्पन्न खेलमा कालिका क्लबकै उत्तम सत्याल र भिम थापाको टीम द्धितिय भएको थियो। प्रतियोगितामा वालकुमारी श्रृजना क्लबका अजय थापामगर र कमल थापा, सैबु ब्याटमिन्टन सर्कलका शिशिर राई र सुरेश तामाङको टोली तृतिय भएको छ।

प्रतियोगितामा प्रथम हुने टीमले २५ हजार नगद पायो। द्धितिय हुने टीमले २० हजार नगद तथा तृतीय हुने दुई टिमले ७ हजार ५ सय नगद प्राप्त गरे।

प्रतियोगितामा प्रमुख अथिति ललितपुर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दामोदर खड्का, सर्कलका अध्यक्ष शंकर थापामगर, व्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, उपाध्यक्ष पुर्ण चित्रकार, नेपाल व्याडमिन्टन संघका पुर्वउपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ र प्रतियोगिताका संयोजक मिलन थापाले विजयी खेलाडीहरुलाई खादा, मेडल, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरेका थिए।

प्रतियोगितामा कालीका क्लबका ओमकार गुुरुङ सर्वोत्कृष्ठ खेलाडी चयन भएका थिए। गुरुङलाई ब्याडमिन्टनका पुर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले ट्रफी प्रदान गर्नु भएको थियो। कार्यक्रममा समापन खेल हुनुअघि भेट्रान खेलाडी ध्रुबकुमार श्रेष्ठ, डा भीमसेन गुरुङ, गणेशराज पोखरेल र सुर्य महर्जन दुईसेट खेल खेलेका थिए।

यही मंसिर १६ गतेदेखि मगरगाउँ ब्याडमिन्टन कोटमा सम्पन्न प्रतियोगितामा २४ टीम सहभागि थिए। समापन कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काले प्रतियोगितामा विजयी र सहभागी खेलाडीलाई बधाई दिनुभएको थियो।

उहाँले भन्नुभयो–शारिरिक स्वस्थताको लागि ब्याडमिन्टन प्रतियोगिता आवश्यक छ। सैबु ब्याडमिन्टन सर्कलले छोटो समयमा चारववटा वडा समेटेर प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो।

ब्याडमिन्टन सर्कलका खेल संयोजक एवं सर्कलका प्रमुख सल्लाहकार मिलन थापाले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताउदै त्यसको लागि सर्कलले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने जानकारी दिनुभयो।

सर्कलका अध्यक्ष शंकर थापामगरले प्रतियोगिता संचालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी वर्ष थप प्रभावकारी रुपमा आयोजना गर्ने बचन दिनुभयो।