४ वर्षमा राष्ट्रिय आविष्कार केन्द्रका ९८ परियोजना : ६० असफल, १० बजार परीक्षणको क्रममा



काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रमा ४ वर्षभित्र ९८ वटा परियोजना दर्ता गरेकोमा ६० वटा असफल भएको छ भने १० वटा बजारमा परीक्षणका क्रममा रहेका छन्।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बच्चालाई न्यानो पार्ने यन्त्र, अन्न भुट्ने यन्त्र, सोलारबाट तरकारी सुकाउने यन्त्र, खुवा बनाउने मेसिन, सानो साइजको चिस्यान केन्द्र, बस टिकट यन्त्र, चिकित्सा स्वास्थ्य रेकर्डिङ सप्टवेर, झिँगाबाट कुखुरा तथा माछाको दाना बनाउने प्रविधि, काम नलाग्ने प्लास्टिकबाट पाइप बनाउने प्रविधि र केही खानेकुरा बजारमा सफल परीक्षण भएको बताउनुभयो।

उहाँले १५ वटा परियोजना सुधार हुने क्रममा रहेको जानकारी पनि दिनुभयो । अध्यक्ष पुनले आविष्कार केन्द्रले बनाएको यन्त्रको माग बजारबाट उल्लेख्य मात्रामा नआएसम्म बजार परीक्षण नहुने बताउनुभयो।

स्वदेशमा रहेका नवप्रवर्धन ज्ञानलाई रोजगारीमा परिणत गर्ने उद्देश्यले वि.सं. २०७६ कात्तिक १ गते झण्डै ८ करोड रुपियाँको लागतमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना भएको हो।

हाल उक्त केन्द्रमा १ जना प्रबन्धक, २ जना लेखा र १ जना भान्सामा काम गर्ने कर्मचारी रहेका छन् भने ७२ जना अनुसन्धानकर्ता कार्यरत छन्।

महावीर पुनको गुनासो

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले केन्द्रले आफूसँग भएको नयाँ परियोजनाको परीक्षण गर्ने ढोका खोले पनि नव प्रवर्धकहरू नआएको गुनासो गर्नुभएको छ।

नेपालीहरू उद्यमी भएर बस्ने बानी नभएकै कारण नव प्रवर्धकहरू नआएको टिप्पणी गर्दै अध्यक्ष पुनले नव उद्यमीहरू विस्तारै विदेशतिर आकर्षण भइरहेको बेला केन्द्रले त्यसलाई नेपालमै रोकी नयाँ आविष्कार गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्न खोजेको दाबी गर्नुभयो।

केन्द्रसँग आर्थिक समस्या नरहेको जिकिर गर्दै पुनले नयाँ परियोजना लिएर आए आर्थिक जोहो कुनै न कुनै दाताबाट हुने बताउनुभयो। नयाँ परियोजना लिएर आउनेले केन्द्रमा आफ्नो आइडिया परीक्षण निःशुल्क रूपमा गर्न पाउने र ट्रेडमार्क लिन चाहेमा केन्द्रले त्यो पनि दिने जनाएको छ।

अनुसन्धानकर्तालाई खान, बस्न र आविष्कार गर्दा लाग्ने सबै सामग्री आविष्कार केन्द्रले व्यहोर्ने गरेको भए तापनि नयाँ परियोजना लिएर आउनेको कमी भएको अध्यक्ष पुनको गुुनासो छ।

प्रतिक्रिया दिनुहोस्