हिंसाको स्वरूप फेरियो, व्यवहार फेरिएन

376
Shares

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका–१४ सोतखोलाकी कमला रास्कोटीले विद्यालय जाने उमे रमानै बालविवाह गर्नुको फल अहिले पाइरहेको बताउँछिन्। जीवन सँगै बिताउने बाचा खाएका कमलाका श्रीमान्ले सौता भित्र्याएपछि उनको खुसी लुटिएको छ।

सन्तानको भविष्यका लागि ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेकी कमला भन्छिन्, ‘मैले जीवनमा यो दिन आउला सोचिन, घरभित्र हिंसा भइरहेको छ।

बाहिरबाहिर अभियान चलाइरहेका छन्।’ के हो महिला हिंसा विरुद्धको अभियान आफूलाई थाहा नभएको उनको भनाइ छ। कमला हिन्दु धर्म र उनका श्रीमान् इसाई धर्म मान्ने भएकाले नै उनीहरूबीच विवाद चुलिएको कमला बताउँछिन् ।

‘उहाँले मलाई इसाई धर्म लिन कर गर्नहुन्थ्यो मलाई मन थिएन, घरमा सधैँ विवादको विषय नै धर्म परिवर्तनका लागी आउने दबाब हो’,उनी भन्छिन्, ‘माइती हिन्दु र घर इसाई, म दुई ढुगां बिचको तरुल जस्तै भए।’

विवाद भएपनि कमलाले स्थानीय मेडिकलमा काम गरेर परिवार चलाइरहेकी थिन् । त्यसै बेला श्रीमान्ले भारत जान प्रस्ताव गरे। उनी भन्छिन्,‘श्रीमान्ले भारतमा जाऔँ, सँगै काम गरौँला भनेपछि म पनि पछि लागेँ।’

कमलाका श्रीमान् पहिलै देखी भारतमा कमाई गर्न गइरहन्थे, त्यही समयमा उनले दोस्रो विवाह गरेका रहेछन् तर उनले त्यो कुरा भारत पुगेर प्रत्यक्ष देखिन् ।

दुःखसुख सँगै भोगौँला भनेर पतिसँगै भारत पुगेकी कमलाले आफूमाथि बज्रपात परेको सुनाइन् । कमला भन्छिन्, ‘भारत गएपछि पतिले अर्को विवाह गरेको थाहा पाएँ। श्रीमान्ले जे भयो मिलेर बसौँ, काम गरौँ, भनेर फकाए।’

यस्तै लेकबेसी नगरपालिका ३ की २७ वर्षकी बालकुमारी नेपाली हिंसामा परेकी अर्की महिला हुन्। आफूले कमाइ गर्न नसक्दा सधैँ हिंसा सहनु परेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘छोडेर जाम् त कहाँ जाम्? बालबच्चा सानै छन्। घरको काम गर्दा कसैले देख्दैनन्।’ पैसा कमाउने बुहारी पो राम्रो, भनेर घरपरिवारले लगाउने रुखो वचन सुनाउँदै उनी भक्कानिइन् । सानै उमेरमा विवाह गरी पढाइ बिचमा छोड्दाको परिणाम यति बेला भोग्नुपरेको उनी बताउँछिन्।

उनी जस्तै हिंसापीडित महिलाका अनुभव सुन्दा जनचेतना नभएर दुर्व्यवहार भएको होइन, शिक्षित व्यक्ति पनि हिंसामा परेको उनीहरूको भनाई छ । बालकुमारी भन्छिन्,‘कतिपय शिक्षित व्यक्ति पनि हिंसामा परेका छन्। तर उनीहरू बाहिर केही भन्न सक्दैनन्।’ घरबाहिर अभियान चलाउँदै हिँड्ने कतिले घरभित्र हिंसा गर्ने गरेको उनीहरू बताउँछन्।

बालकुमारी भन्छिन्, ‘घरमा नबुझ्ने कोही छैन तर पनि सबै मिलेर काम गर्नुपर्छ भन्ने चेतना नहुँदा म हिंसामा परेकी छु।’ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान होस् यो अरू अभियान पिडामा परेका पिडामै छन्, अभियानकर्मी भत्ता पचाएरै बसेका छन् ।

दलित महिला सङ्घ (फेडो) कर्णाली प्रदेश संयोजक मञ्जु सुनारले प्रत्येक वर्ष भव्य रूपमा मनाउँदै आएको यो अभियान १६ होइन वर्ष दिन भरिनै गर्नुपर्ने बताउँछिन् । केही दिनको अभियानलाई विशेष मानेर सम्बन्धित सङ्घसंस्था र कार्यालयले मनाउनाले मात्रै हिंसा नरोकिने उनको भनाइ छ।

‘प्रत्यक्ष रूपमा घर भित्र र बाहिरको काममा महिला छैनन्, कार्यालय देखी घरसम्मको काम गर्ने महिलालाई दुवै तिर समस्या छ’, उनले भनिन्, ‘फिल्डमा जाँदा महिला भएकै कारण चरित्रहत्या, सहकर्मीबाट हुने हिंसा र घरमा परिवारबाट हुने हिंसा । आखिर जहाँबाट पनि महिला त रहेछन् शोषण अनि हिंसामा पर्ने।’

नारामा मात्रै सीमित नभई सम्बन्धित सङ्घसंस्था र कार्यालयको काम गर्ने तरिका परिवर्तन हुनुपर्ने उनको भनाइ छ । अब सरकारले आफ्नो नागरिकको अधिकारको लागी सोच्नुपर्ने संयोजक सुनारले बताइन्।

‘अझै पनि बालविवाह, जातीय विभेद, लिङ्गका आधारमा गरिने हिंसाको मारमा महिला नै बढी छन्’, उनले भनिन्, ‘बिस्तारै कम हुने प्रकृतिको नियम हो तर हिंसा त व्यवहारले गरिने कुरा हो यो त परिवर्तन गर्न सकिन्छ। हिंसा दर्ता भएपनि बिचैमा तुहिने, पीडितले न्याय नपाउने भए यो अभियानको के काम? उनले प्रश्न गरिन् । कानुन कार्यान्वयनमा भएको फितलो कम नभएसम्म हिंसा नघट्ने उनको भनाइ छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार लैङ्गिक हिंसाका घटनाको अवस्था आज पनि उस्तै छ। जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, मानव बेचबिखन, बहुविवाह, बालविवाह, आत्महत्या, अपहरण, गर्भपतन, कर्तव्य ज्यान, बोक्सी आरोप, जातीय छुवाछुत र घरेलु हिंसाका घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसासँग सम्बन्धित उजुरी दर्ता भएको कार्यालयको विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्ष २०८०∕०८१ को कात्तिक मसान्तसम्म कर्णाली प्रदेशका १० जिल्लामा गरी घरेलु हिंसाका २ सय ३१ उजुरी दर्ता भएका छन्।  आर्थिक वर्ष २०७९∕०८० मा सुर्खेतमा घरेलु हिंसाका ५ सय ७ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

सन् १९९१ देखी हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वव्यापी रुपमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको पाइन्छ।समुदाय, स्थानीय, प्रदेश तथा संघीय स्तरसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी मनाइने अभियानले पनि हिंसामा कमी नआएको हिंसा पीडितहरूको गुनासो छ ।