बुढेसकालको सहारा भेट्न ८० कटेका बा–आमा सडकमा


काठमाडौं ।

नाम काइस्यो गुरुङ । उमेर ९१ वर्ष । उमेरले नोट काट्नै लाग्यो र समृद्धिको आकांक्षा अझ जागेको छ, समृद्ध नेपालको सपना उम्लिएको छ । त्यसैले एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साथ दिन लट्ठी टेकेरै भए पनि समृद्धिको लागि संकल्प अभियानमा सरिक हुनुभएको छ ।

नेकपा एमालेले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्राको टोली ९ दिनको दिन लमजुङ हुँदै गोरखा पुग्दा सडक किनारमा ठुलो सङ्ख्यामा सर्वसाधारण स्वागत गर्न लाइन लागेर सडकमा उभिएका थिए । निर्धारित समय भन्दा ढिलै गरी अभियानको टोली आइपुगेको भए पनि स्थानीयमा कुनै निराशा थिएन । कुनै आक्रोश थिएन । सबैमा उत्साह थियो, श्रद्धाभाव थियो ।

उमेरदारी जस्तो उभिएरै त कहाँ बस्न सक्नु । अनि बुढेसकालको सहारा वृद्ध भत्ता दिने पार्टीका नेताहरू आएका छन् भन्ने सुनेपछि घर भित्र पनि कसरी बस्नु । लमजुङ सुन्दर बजारकी ९१ वर्षीय काइस्यो गुरुङ लौरो टेकेरै भने पनि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरूलाई भेट्न सडकमा निस्किनुभएको थियो । वृद्ध शरीर उभिन असजिलो भएपछि उहाँ सडक किनारमा एमाले नेताहरूको प्रतीक्षा गरेर बसिरहनुभएको थियो ।

कान पनि त्यति राम्रो नसुन्ने काइस्योलाई एमाले र केपी ओली एकदम मन पर्छ रे । त्यही भएर पर्खेरै भेट्न बसेको उहाँले सुनाउनुभयो । ‘केपी ओली आउँदै हुनुहुन्छ भनेर भेट्न बसेको, भत्ता दिने, सडक खोल्ने, विकास ल्याउने नेता हो केपी ओली, असाध्यै मन पर्छ’, काइस्योले भन्नुभयो ‘भेटेर दुई थुँगा फूल दिऊँ भनेर बसेका ।’
काइस्यो मात्र होइन उहाँकै उमेरको आसपासका वृद्ध बा–आमाहरू एमालेको नेताहरूलाई भेट्न र आर्सीवाद दिन कास्की र लमजुङका सडक किनारमा लाम लागेर बस्नुभएको थियो । उमेर ढल्की सकेका बा–आमालाई पनि एमालेले आफ्नो लागि अझै केही गरिदिन्छ, देशको लागि केही गर्छ र आफ्ना सन्तानको भविष्यको लागि सोचिदिन्छ भन्ने विश्वास थियो ।

त्यसैले त उहाँहरू आफ्नो उमेरको समेत ख्यालै नगरी एमालेको अभियानमा आएको टोलीलाई स्वागत गर्न आतुर हुनुहुन्थ्यो । लमजुङको सुन्दर बजारको जनसभामा भाग लिन ८० वर्षकी रेवतीमाया लामिछाने र ८१ वर्षकी पद्मकुमारी पाण्डे पुग्नुभएको थियो । उहाँहरूको कार्यक्रममा पुग्नुको अरू कुनै स्वार्थ थिएन जम्मा एमालेले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रामा सहकार्य जनाउनु थियो, एमालेका नेताहरूलाई समृद्ध नेपाल निर्माणको अभियानमा सफलता मिलोस् भन्ने शुभकामना दिनु थियो ।

त्यो भन्दा पनि बढी एमाले अध्यक्ष केपी ओलीलाई नजिकैबाट आफ्नै आँखाले देख्न मन थियो । त्यही प्यास मेट्न वृद्ध आमाहरू सभामा सहभागी हुन पुग्नु भएको थियो ।
एमालेको अभियानमा सहकार्य जनाउन आमाहरू मात्र होइन ८० नाघेका बाहरूको पनि त्यतिकै उत्साहजनक सहभागिता रहेको थियो । उहाँहरू एमाले माथि आड, भरोसा भएकोले कार्यक्रममा सहभागी हुन आएको बताउँदै हुनुहुन्थ्यो । एमालेले सुरु गरेको अभियानमा एमालेका नेताहरूले नै सोचेभन्दा बढी नागरिक सहभागिता जुटेको छ । के बाल–बालिका, के किशोर–किशोरी, के युवा–युवती, के जेष्ठ नागरिक अभियानमा सबैको उत्साहजनक सहभागिता रहेको छ । एमालेको सो अभियान तीनवटा प्रदेश पार गर्दा महाअभियान जस्तो देखिएको छ ।

यसले आफूहरूलाई थप उत्साहित बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बताउनुहुन्छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।