१४ किलो सुनको छानबिनका लागि भन्सार विभागले बनायो समिति



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत पौडेलको नेतृत्वको समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना सदस्य रहेका छन्।

यो समितिलाई ५ दिनको कार्यादेश दिइएको छ। सुनसहित गएराति पक्राउ परेका गोरखाका चन्द्र घलेलाई प्रहरीको जिम्मा लगाइएको छ। फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११:४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो।

विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो।

घले र उक्त कार्यमा संलग्न गोरखाका मीनबहादुर घलेलाई समेत पक्राउ गरेर भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ भने सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्