द्वन्द्वकालमा छियाछिया भएको बिजुलीको पोल १३ वर्षपछि बेनी लगियो

0
Shares

काठमाडौं । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका क्रममा म्याग्दी सदरमुकाम बेनीमा सरकारी सुरक्षाकर्मीसँग भएको भिडन्तका क्रममा गोली लागेर छियाछिया भएको बिजुलीको पोल फिर्ता लगिएको छ।

वरिष्ठ पत्रकार एवम् लेखक कनकमणि दीक्षितले उक्त पोल १३ वर्षपछि बेनी पठाइएको जानकारी दिएका छन्। बिहीबार दीक्षितले बेनी नगरपालिकाका प्रतिनिधिलाई सो पोल हस्तान्तरण गरेका हुन्।

२०६० चैत ७ गते तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तको क्रममा बेनीको मङ्गलाघाट बजार छेउमा रहेको बिजुलीको पोलमा सयौँ गोली लागी प्वाल परेको अवस्थामा थियो।

दीक्षितले २०६७ साल असोज २१ गते म्याग्दीबाट गोली लागेको बिजुलीको पोल ल्याएर पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय हाताभित्र रहेको यलमाया केन्द्रमा राखेका थिए। पछि म्याग्दीका राजनीतिक दल, अधिकारकर्मी र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दैआएका थिए।

फिर्ता लगिएको बिजुलीको पोललाई बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राखिने बेनी नगरप्रमुख सुरत केसीले जानकारी दिएका छन्। पार्कमा युद्धका अवशेषहरूलाई युद्ध स्मारकका रूपमा संकलन गर्ने र संरक्षण गरेर राख्ने बताइएको छ।