मंसिर २७ गतेदेखि न्यायाधीशहरूको सुनुवाइ

0
Shares

काठमाडौं ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरूसँग मंसिर २७ गतेदेखि सुनुवाइ गर्ने भएको छ । समितिको बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ६ जनाको सुनुवाइ मंसिर २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो । सिफारिस गरिएका

न्यायाधीशहरूविरुद्ध उजुरी गर्न १० दिनको अवधि दिएको समितिले यही मंसिर २४ गते छलफल गर्ने र त्यसको तीन दिनपछि न्यायाधीशमा सिफारिस व्यक्तिहरूको सुनुवाइ गर्ने तय गरेको हो ।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा उजुरी भेटिएको थियो । त्यसपछि समितिका सदस्यहरूले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृत रूपमा अध्ययन गर्न केही दिन समय माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरूको सुनुवाइका लागि मंसिर २४ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

न्यायपरिषद्ले गत मंगलबार सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीशमध्ये ६ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका न्यायाधीशमा शारंगा सुवेदीविरुद्ध ६, अब्दुल अजित मुसलमानविरुद्ध एक र टेकप्रसाद ढुंगानाविरुद्ध तीनवटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिनुभयो । महेश शर्मा पौडेल, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाउ“मा एउटा पनि उजुरी परेको छैन । सर्वोच्च अदालतमा हाल ७ न्यायाधीश रिक्त रहेका छन् । न्यायाधीशमा सिफारिसमध्ये उच्च अदालतको न्यायाधीशमा कार्यरत ४ जना छन् भने २ जना कानुन व्यवसायी हुन् ।

प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्तिका लागि प्रस्तावित गरिएका नामको सम्बन्धमा संविधानको धारा २८२ बमोजिम सुुनुवाइको लागि संसदीय सुनुवाइ समिति रहने प्रावधान रहेको छ । समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनित गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रिय सभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका तीन जना गरी जम्मा १५ सदस्य रहने छन् । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।