पुराना दलप्रतिको असन्तुष्टिलाई ढाक्ने क्रेज

0
Shares

काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गत हप्ताबाट शुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा क्रेज देखिएको छ । शहरमा पुराना राजनीतिक दलहरूप्रति असन्तुष्टिको चर्को आवाज उठिहरेका बेला एमालेले शुरू गरेको संकल्प यात्रामा शहर केन्द्रित असन्तुष्टिलाई ढाक्ने गरी नागरिकको उपस्थिति देखिएको हो ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको यात्राका क्रममा जिल्ला सदरमुकाम बिहीबार बागलुङ बजारमा आयोजित कार्यक्रमलाई पार्टी अध्यक्ष केपी ओलीलेले सम्बोधन गर्नुभयो । यस क्रममा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा शुरू गरेको बताउनुभएको थियो । अब एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने कार्यक्रम ल्याउने भन्दै उहाँले पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यसबीचमा हामीहरूले धेरै सम्भावनाको अध्ययन

गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने र यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरूले योजना बनाउन थालेका छौँ ।’ अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिसन २०८४ सफल पार्नुपर्ने बताउँदै मिसन सफल पार्न एमालेको एकल बहुमत आउन जरुरी रहेको ओलीको भनाइ छ । २२ दिन लामो संकल्प यात्रामा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमालेका सचिवालय सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । २२ दिन पूरै अध्यक्ष नै कार्यक्रममा सहभागी हुने भएपछि कार्यक्रममा जनसहभागिता बढेको उहाँको भनाइ छ ।

पार्टीको नवौं महाधिवेशनमा एक नेताले अध्यक्ष ओलीप्रति राखेको धारणा (एकछिन उठेर बोल्न नसक्ने नेतालाई पुनः अध्यक्ष बनाउन हुँदैन) भन्ने प्रसङ्गको स्मरण गर्दै भट्टराईले भन्नुभयो– ‘अध्यक्ष ओलीको क्रेजले नै एमालेको क्रेज बढेको हो । त्यस बेला केही नेता साथीहरूबाट अध्यक्षप्रति बनाइएका धारणा अहिले ओलीले गलत सावित गरिदिनुभएको छ । उहाँको अग्रसरतामा यो अभियान शुरू भएकाले अब मुलुकको समृद्धि एमालेबाटै सम्भव छ, यसको नेतृत्व केपी ओलीले गर्नुहुन्छ ।’ गत १४ मंसिबाट शुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको संकल्प यात्राअन्तर्गत शुक्रबार पोखरामा सभा हुने एमालेले जनाएको छ । सो कार्यक्रमअन्तर्गत पूर्वी पहाडी जिल्लाहरू नुवाकोट, काभ्रे, रामेछापको मन्थली, दोलखाको चरिकोट, ओखलढुंगाको हर्कपुर, तेह्रथुमको वसन्तपुर र पाँचथर फिदिममा ठूलो आमसभा गर्ने कार्यतालिका रहेको नेता विशाल भट्टराईले बताउनुभयो ।

एमालेको यो कार्यक्रमले कार्यकर्तामा जागरण ल्याएको नेताहरूले बताएका छन् । सामाजिक सञ्जालको प्रभावकै कारण पुराना दलहरूप्रति शहरमा जुन खालको असन्तुष्टि देखिए पनि विकल्पमा आउनेहरू सस्तो लोकप्रियतामै रमाइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । पुराना दलहरूप्रति असन्तुष्टिका आवाजहरू उठे पनि राज्यसत्ता सञ्चालनको अनुभव भएका, लामो संघर्ष र मजबुद संगठन बनाएका पुराना राजनीतिक पार्टीहरू सजिलै बहिर्गमन नहुने राजनीतिक विश्लेषक चिरञ्जीवी अर्यालले बताउनुभयो । यद्यपि, उनीहरू समयानुकूल सच्चिन आवश्यक रहेको उहाँको भनाइ छ ।

एमालेको यो अभियानमा देखिएको जनसमर्थनले नागरिकप्रति पार्टीको क्रेजमा स्खलन नआएको पुष्टि भएको एमाले नेताहरू बताउँछन् । समृद्धिको यात्रामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायतका नेताहरू सँगै रहेका छन् ।