ओलीले भने- पहिचानको नाममा ४ जना केटाहरू उफ्रेर केही हुँदैन

0
Shares

पर्वत ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अभियान यात्रा रोक्ने बताइरहेका कोशी प्रदेशका पहिचानवादीहरूलाई आतंककारी गतिविधि नगर्न चेतावनी दिएका छन्।

नेकपा एमालेले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासहित चलाइरहेको संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिचानवादीको नाममा केही तत्वले कोशी प्रदेशमा वितण्डा मच्चाउन खोजेको आरोप लगाएका हुन्।

‘कोशी प्रदेशमा सबैको साझा नाम राखियो भनेर केही तत्वहरू वितण्डा मच्चाउन खोजिरहेका छन्। विदेशबाट सञ्चालितहरूले नेपालमा एकता, शान्ति हुन नदिने, अशान्ति मच्चाउने र देशलाई असहज स्थितिमा पारेर तत्व लागिरहेका छन्’ ओलीले भने, ‘झुलाघाट शुरू भएको हाम्रो यात्रालाई चिवाभन्ज्याङ दिँदैनौं भनेका छन्, हामीलाई कसले रोक्ने हो ? सामना गर्नु नपरोस् ।’

उनले ‘एमालेलाई कोसीमा प्रवेश गर्न नदिने भन्नेहरू को हुन् ?’ भन्दै प्रश्न गरे। ओलीले नेपालको भूभागको कसैको बिर्ता नभएको पनि बताए। संकल्पयात्रा कोसीमा प्रवेश गरे आक्रमण गर्ने धम्की दिनेहरूलाई पछि हट्न उनले चेतावनी दिए।

एमालेले उनीहरूको सामना गर्नुपर्ने स्थिति नबनाउन ओलीले आग्रह गरे। माओवादी सशस्त्र युद्धको समेत सामना गरिएको भन्दै ओलीले पहिचानवादीका नाममा केही उफ्रिँदैमा फरक नपर्ने बताए। ‘जनयुद्धका नाममा कत्राकत्राको भाइफुट्टी समाप्त भयो भने पहिचानको नाममा ४ जना केटाहरू उफ्रेर केही हुँदैन’ ओलीले भने ।