महिला स्वास्थ्य स्वयंसेविकाको कदर गरियोस्



‘स्वास्थ्य क्षेत्रमा दिगो विकास : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ लाई आत्मसात् गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै तह र सतहत्तरै जिल्लामा ‘२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस’ मनाइरहँदा नेपाल सरकारले गरेको शुरुवाती दिनको निकै प्रशंसा भयो । साथै स्वास्थ्य क्षेत्रमा सरकारको योजना र स्वयंसेवीको काम अत्यन्तै सराहनीय पनि प्रमाणित भयो । शुरुवाती दिनको उज्यालोलाई निरन्तरता दिन समयसापेक्ष परिवर्तनको खाँचो रहेको कुरा स्वास्थ्य स्वयंसेविकाहरुले दिवस मनाइरहँदा सरकारसमक्ष व्यक्त गर्नु अधिकारको विषय हो । नेपालमा २०४५ सालमा २७ जिल्लाबाट शुरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अहिले देशव्यापीरुपमा ५१ हजार ४ सय २३ जनाले हरेक घरमा पुगेर जनस्वास्थ्यको अवस्थाका बारेमा नेपाल सरकारको कार्यक्रम तय गर्न सघाइरहेका छन् । यो अवस्थामा स्वास्थ्य स्वयंसेविकाहरुको जीविकोपार्जन र उनीहरुमा आश्रित परिवारको स्वास्थ्य उपचारमा सरकाको ध्यान पुग्नुपर्ने विषय उठान हुनु स्वाभाविकै हो ।

विश्वको परिवेशलाई केलाउने हो भने, स्वयंसेवी भनेका कुनै पनि सेवा–सुविधा नलिई आफ्नै खर्चमा काम गर्दैनन् । उनीहरुसँग भएको सीप र क्षमताको कदर गर्दै मासिक या वार्षिकरुपमा कर्मचारीसरहको सेवा–सुविधा नदिए पनि जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गरिन्छ । नेपालका स्वास्थ्य स्वयंसेविकाहरुले काममा खटिँदा दिनको ४ सय यातायात खर्च, वार्षिक पोशाकका लागि १० हजार र ६० वर्ष उमेर पुगेपछि बिदाइका बेला २० हजार पाउने व्यवस्थाका साथै स्वास्थ्य बिमामा ५० प्रतिशत छुट पाउनेबाहेकका सुविधा छैन । यसरी स्वास्थ्य सेवाका क्षेत्रमा काम गराइरहनु उचित नहुने कुरा सरकारसमक्ष स्वयंसेवीहरुबाट सार्वजनिकरुपमै राखियो ।

नेपाल सरकारले हिजोको परिवेशमा स्वास्थ्यकर्मी घर–घरमा पुग्न नसक्ने अवस्था भएकै कारण प्राथमिक उपचारका लागि सूचना सन्देश पु¥याउने कार्यमा राज्यलाई सघाउने उद्देश्यले स्थापना गरिएको महिला स्वास्थ्य स्वयंसेविका आजको लागि त्यही अवस्थामा राख्नु आवश्यक छ कि छैन ? यदि छैन भने अबका दिनमा नयाँ स्वास्थ्य स्वयंसेविका भर्ना गर्नुभन्दा विगतमा भएकालाई समयको मागसँगै सम्बोधन गर्नुपर्छ । गाउँघर क्लिनिक, स्वास्थ्य चौकी, हरेक पालिकामा वडास्तरदेखि पालिकास्तरसम्म ५ बेड, १० बेड र १५ बेडका अस्पतालको परिकल्पनासहितको ठूलो लगानी भएको छ । राज्यले यस्ता क्षेत्रलाई जनमैत्री बनाउँदै सर्वसुलभरुपमा स्वास्थ्य सूचना र सेवा प्रवाह गर्नेतर्फ ध्यान दिनु आजको आवश्यकता हो । सरकारको ध्यान यतातर्फ केन्द्रित हुनुपर्छ । विगतमा सेवा प्रवाह गरी जनस्वास्थ्यलाई घरदैलोसम्म पु¥याउने महिला स्वास्थ्य स्वयंसेविकाहरुको समेत मूल्यांकन गरिनुपर्छ । विगतमा २० हजार दिएर ६० वर्ष उमेर पूरा भएपछि बिदाइ गर्ने सोच ल्याउनुु त्यति बेला सराहनीय थियो तर आजको अवस्थामा कम्तीमा १ देखि २ लाखसम्म दिएर बिदाइ गर्दा स्वयंसेवीहरुको योगदानको कदर हुने थियो भनी स्वयंसेवीहरुले राज्यलाई दिएको सुझावलाई गम्भीररुपमा लिइयोस् ।

नेपालमा अहिलेसम्म कुनै पनि पुरुष मात्र आबद्ध संस्थाले यति लामो समय देश र जनताका लागि निःशुल्क स्वास्थ्य सेवा दिएको पाइन्न । महिलाहरुले महिला–पुरुष सबैका लागि यति राम्रो काममा आफूलाई सुम्पिएको विषयप्रति सरकार मौन बस्न मिल्दैन । समयसँगै परिवर्तन हुन सक्नुपर्छ । देशको स्वास्थ्य अवस्थालाई सिंहदरबारसम्म पु¥याई योजना बनाउन सघाउ पु¥याउने महिला स्वास्थ्य स्वयंसेविकाले गरेको कामको उच्च मूल्यांकन गरियोस् । स्वास्थ्य सेवाको भावनाले ओतप्रोत भएका महिलाहरुको समयसापेक्ष सम्मान हुनुपर्छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुको जीविकोपार्जनका क्षेत्रमा सघाउ पुग्ने गरी निर्णय गरियोस् ।

प्रतिक्रिया दिनुहोस्