काठमाडाैं ।
नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेका हुन् ।
पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौँ घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौँ– १६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र सिराहा घर भएका १९ वर्षीय दिपेन परियार छन् ।
काभ्रे घर भएका सुवास लामा, चितवन घर भएका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गा घर भएकी सुजता दाहाल, लमजुङ घर भएका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगर पालिका घर भएका ३८ वर्षीय द्रोणा डाँगीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ गरिएकाहरू दुई समूह हुन् । एउटा समूहको नेतृत्व ओखलढुङ्गा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीय सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालले गर्दै आएका थिए । अर्को समूहको नेतृत्व हरिबहादुर विश्वकर्मा र ईश्वर अधिकारीले गरेका हुन् ।
आरोपीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट सडक मार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गिरोहले प्रतिव्यक्ति ७ लाख देखि २० लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको छ । रसियाबाट निमन्त्रणा पत्र र भिजिट भिसा उपलब्ध गराएबापत गिरोहका सदस्य हरिबहादुर विश्वकर्माले १८ सय ५० अमेरिकी डलर पठाउने गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी भूपेन्द्र खत्री भन्छन्– ‘सेटिङ र टिकेटिङको लागि नेपालबाट शोभराजलाई भारतीय रुपैयाँ २ लाख पठाएको अनुसन्धानबाट थाहा भएको छ ।’
आरोपीहरूले पठाएको मध्ये ११ जना नेपाल फर्किएका छन् । ५–१० जनाको समूहबाट रसिया पठाउन सुरु गरेका आरोपीहरूमध्ये केही कन्सल्टेनी सञ्चालकहरू पनि छन् । यस्तै नेपालीलाई रुसी सेनामा पठाउने कार्यमा नेपाली सेनाका पूर्व सैनिकको समेत संलग्नता देखिएको छ। केही कन्स्ल्टेन्सीले विज्ञापन नै गरेर रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता समेत सञ्चालन गरेको खुलेको एसएसपी खत्रीले जानकारी दिए ।
प्रतिक्रिया