राष्ट्रिय सभाको उपनिर्वाचनको कार्यतालिका स्वीकृत

मतदाता नामावली पुस २० गते



काठमाडौं  । 

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनको कार्यतालिका स्वीकृति गरेको छ । कार्यतालिकाअनुसार यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।

कार्यतालिका प्रकाशित भएपछि सातवटै प्रदेशमा मतदाता नामावली संकलन गरिने छ । राष्ट्रिय सभाको निर्वाचनका लागि गाउ“पालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको मेयरउपमेयर र प्रदेश सभाका सांसदहरू मतदाता रहने छन् । अहिले विभिन्न गाउ“पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रदेशसभाका सांसद्हरू रिक्त रहेकोले सोहीअनुसार मतदाता नामावली अद्यावधिक गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।
सबै प्रदेशमा निर्वाचन कार्यालय खोल्ने, उच्च अदालतका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने आयोगले जनाएको छ । त्यसै गरी दलहरूसँग आधिकारिक हस्ताक्षर माग, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, उम्मेदवारी दर्तालगायतका कार्यक्रमको गृहकार्य भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

पुस २२ गते मतदाता नामावलीउपर दाबी विरोध भई सोही दिन मतदाताको अन्तिम नामावली प्रकाशित गरिने छ । मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिने आयोगले जनाएको छ । त्यसै गरी पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएकोले राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने पनि आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामा भने उम्मेदवार हुन पाउने छ । मनोनयन पत्र र उजुरी उपर जा“चबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुष २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन २ बजे सम्पन्न हुने आयोगले जनाएको छ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते १० बजे बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि सोही दिन मतगणना कार्य हुनेछ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य १ र निर्वाचित सदस्य १९ जना) २० जना सांसदहरूको पदावधि यही फागुन २० गते सकिने भएकोले उपनिर्वाचन गराउन लागिएको हो । २०७४ सालमा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेको हो । आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ ।

कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । उक्त ऐनबमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्था रहेको छ । सो व्यवस्थाबमोजिम कम्तीमा २०८० माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्