पनौतीको गुरुकुललाई अस्पतालबाटै दुई लाख  दान

238
Shares

काभ्रे, पनौती । 

विगत एक साता देखि धुलिखेल अस्पतालमा उपचारार्थ पनौती नगरपालिका– ९ निवासी ८५ वर्षिया लोक कुमारी भण्डारीले शचीतीर्थ त्रिवेणी गुरुकुलको भौतिक संरचना निर्माणार्थ आयोजित श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञमा २ लाख  रुपैयाँ  नगद दान गरेकी छन्।

विगत केही वर्षदेखि दम रोगले ग्रस्त ८५ वर्षिया यी आमाको दान धर्ममा छोरा टिकाराम  भण्डारीले पनि साथ दिइरहेका छन । पछिल्लो समय लोककुमारीले त्रिवेणीघाट नजिकै रहेको माइती वृद्धाश्रमलाई ५१ हजार, आफ्नो कुल देवताको मन्दिर स्थापनार्थ १ लाख, खोपासी रोडमा रहेका नवदुर्गा मन्दिरको लागि ५५ हजार नगर दान गरिसकेकी छन् । यतिमात्र हैन गरिबहरुलाई न्यानो कपडा उपलक्ध गराउन पनि हजारौँ रुपैयाँ खर्च गरिसकेकी छन्  ।

आफ्नो जीवनकालको अधिकांश समय दुखी जीवन व्यतीत गरेकी  लोककुमारी जीवनको उत्तरार्धमा दान धर्ममा अझ बढी सक्रिय भएकी छन्  । ‘छोरा छोरीले मायाले दिएका अलिअलि रकम जम्मा गरेर राख्नुहुन्छ , अलि धेरै हुँदासाथ कतै न कतै दान गर्न इच्छा गर्नुहुन्छ’ छोरा टिकाराम भण्डारी भन्नुहुन्छ– आमाले यहाँ यति दान गर्न मन लाग्यो भन्दासाथ हामी पूरा गर्दिहाल्छौ । आमाले पहिला धेरै दुख कष्ट गरेर हामीलाई  हुर्काउनु बढाउनु भयो, मरेर लानु केही छैन, अहिले आमाले इच्छा गर्नुभएको कुरा हामी पुरा गर्दिहाल्छौ ।

विगत दुईवर्ष देखि सञ्चालनमा रहेको पनौतीको यो गुरुकुलमा अहिले २८ जना वटुक छन् । यी वटुकहरुलाई नि:शुल्करुपमा खाने, बस्ने, शिक्षा, दीक्षा दिने सबै काम शचीतीर्थ गुरुकुलले नै गर्दै आएको छ । हाल त्रिवेणी घाटको सत्तलमा रहेको यो गुरुकुललाई व्यवस्थित रुपमा सञ्चालन गर्न पनौती ६ स्थिति गोरखनाथ डाँडामा नया भौतिक संरचना बन्दैछ । भौतिक संरचना निर्माणको लागि हालसम्म कुनैपनि सरकारी रकम नपाएपछि सप्ताह  ज्ञान महायज्ञ आयोजना गरिएको हो । पण्डित  अच्युत प्रसाद भट्टराईको अग्रसरतामा सञ्चालित गुरुकुलको लागि सहयोग हातहरु अघि बढीरहेका छन् । शनिवार देखि शुरु भएको सप्ताहमा दुई दिनमै ३० लाख रुपैयाँ  भन्दा बढी रकम सङ्कलन भएको आयोजक समितका सचिवालय प्रमुख रामकुमार बस्नेतले जानकारी दिएका छन् ।

सप्ताह ज्ञान महयज्ञमा सचिवालय प्रमुख बस्नेत परिवारबाट एक लाख रुपैयाँ उपलब्ध गराइएको छ भने शचीतीर्थ त्रिवेणी गुरुकुलका अध्यक्ष शिवप्रसाद जंगमले पनि स्व. मातापिता तारादेवी र रामजीप्रसाद जंगम तथा स्वर्गीय श्रीमती सुभद्रा जंगमको सम्झनामा गुरुकुलको लागि १ लाख ११ हजार रुपैयाँ  प्रदान गरेका छन् । सप्ताहका प्रमुख वाचक समेत रहेका पण्डित  अच्युत भट्टराईको परिवारबाट पनि ४ लाख रुपैयाँ  भन्दा बढी दान प्राप्त भएको सचिवालय प्रमुख बस्नेतले जानकारी दिएका छन् ।

अहिले गुरुहरुले तिथि श्राद्ध तथा अन्य धार्मिक कार्यबाट प्राप्त रकम र अन्य सहयोगीहरूले उपलब्ध गराएको रकमबाट २८ वटुकहरुलाई खाने बस्ने र शिक्षा दीक्षा दिने कार्य भइरहेको छ । गुरुकुललाई संस्कृत पाठशाला पनि भन्ने गरिन्छ । खासगरी गुरुकुलबाट निस्किएपछि बटुकहरु कर्मकाण्ड, ज्योतिष शात्र, बसुकला र अठार पुराण प्रवचन गर्न सक्षम हुने बताइन्छ ।

शिक्षा र दीक्षाको लागि गुरुकुल परापुर्वकाल देखि सञ्चालन हुँदै  आएको छ । भगवान रामचन्द्रका चार दाजुभाइले पनि गुरुकुलबाटै शिक्षा र दीक्षा पाएका थिए । पछिल्लो समय आधुनिक शिक्षाको विकास भयसँगै संस्कृत शिक्षा र धार्मिक कार्य गर्ने शिक्षा लोप हुदै गएको छ । अहिले धार्मिक कार्यको लागि एकैपटक दर्जन ब्राह्मण आवश्यक परे जुटाउन नसक्ने अवस्था आइसकेको छ । गुरुकुलका अध्यक्ष जंगम भन्नुहुन्छ– पछिल्लो पुस्तालाई यो शिक्षा दिन नसके अब धार्मिक कार्यको लागि ब्राह्मण नै भट्टाइदैन ।