लागूऔषधमा खुल्दै युवती

0
Shares

बाँके।

नेपालगञ्जमा लागूऔषधी ब्राउन सुगरसहित युवती पक्राउ परेका छन् । पछिल्ला घटनाहरुले लागूऔषधको दलदलमा युवासँगै युवती पनि फसेको देखाएको छ ।
बाँके प्रहरीले धम्बोझीबाट २१ वर्षीया निलु वली र २१ वर्षकै लक्ष्मी बुढामगरलाई १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । दुई युवतीसँगै २१ वर्षका विनोद तामाङ पनि पक्राउ परेका छन् । निलु र विनोद नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीका हुन् भने लक्ष्मी रुकुम घर भई नेपालगञ्ज–१८ मा बस्दै आएकी छन् । ‘प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका युवती लागूऔषध प्रयोगकर्ताजस्तो देखिएको छ । अनुसन्धानपछि उनीहरु प्रयोगकर्ता हो कि कारोबारी हो थाहा हुन्छ ।’ –बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले भन्नुभयो ।

सीमावर्ती शहर नेपालगञ्जलाई लागूऔषधको ट्रान्जिट प्वाइन्ट मान्ने गरिन्छ । यहाँ बालक, किशोर र युवामात्रै होइन, किशोरी र युवती पनि लागूऔषधको दलदलमा फसेको पाइन्छ । युवतीको लागूऔषधमा बढ्दो संलग्नताले गर्दा उनीहरुलाई सुधार्न महिला पुनःस्थापना केन्द्रमा पनि सञ्चालनमा रहेको छ । पुरुष प्रयोगकर्तालाई सुधार्न त नेपालगञ्जमा एक दर्जन पुनःस्थापना केन्द्र छन् ।

साहरा पुनःस्थापना केन्द्रका सञ्चालक अभिराज क्षत्रीले युवती पनि लागूऔषधि प्रयोग र कारोबारका लागि फिल्डमै आएको बताउनुभयो । लागूऔषधका पूर्वप्रयोगकर्ता क्षत्रीले आफ्ना पालामा युवतीले लागूऔषध खाए पनि घरमै या सुरक्षित ठाउँमा मगाएर खाने गरेकोमा अहिले युवती आफंै फिल्डमा आएको बताउनुभयो । ‘अहिले पहिलाको जस्तो छैन । युवती पनि आफंैले मगाएर आफंै खाने र बेच्ने गरेका छन्’, उहाँले थप्नुभयो– ‘लागूऔषधमा फसेका धेरैजसो युवती बाहिरबाट नेपालगञ्जमा बस्न आएका छन् । स्थानीय पनि अगाडि देखिएका छन् ।’

नेपालगञ्जमा बढ्दो क्यासिनोले गर्दा बाहिर जिल्लाका युवती नेपालगञ्जमा बढिरहेका छन् । त्यसै पनि नेपालगञ्ज पश्चिमको ठूलो बजार भएकाले यहाँ धेरै जिल्लाका मानिस रोजगारी, व्यापारलगायत कामका सिलसिलामा बस्न आइपुग्छन् । सीमापारि सहजै ब्राउनसुगर पाइने भएकाले नेपालगञ्जमा त्यसको पहुँच हुने गर्दछ । लागूऔषध नियन्त्रण ब्युरो या प्रहरीका युनिटहरुले दैनिकजसो नै लागूऔषधिका प्रयोगकर्ता या कारोबारीलाई समातिरहेको हुन्छ । जिल्ला प्रहरीको तथ्यांक हेर्दा प्रहरीको काम लागूऔषधी प्रयोगकर्ता या कारोबारीलाई समात्ने जस्तो मात्रै देखिन्छ ।

पुरुषसँगै फिल्डमै खुलेका युवतीको संख्या बढ्दा समाज अझ दलदलमा फस्दै गएको छ । नेपालगञ्जका सडकमा राती ११ बजेपछि मदिराले मातेका र चुरोट तान्दै हिँडेका युवती प्रशस्त देखिने गरेको छ । कतिपय होटल, बारमा मदिराले लठिएका महिला–महिलाका बीचमा कुटाकुट भएको समाचार आइरहेका छन् ।
पश्चिमको ठूलो शहर नेपालगञ्जलाई क्यासिनोमा आउने ग्राहकको मागले यौन विकृतिमात्रै बढाएको छैन पोखरालगायत अन्य शहरमा नबिकेकाहरु नेपालगञ्जमा ओइरिएको भुक्तभोगीहरु बताउँछन् । मदिरा, चुरोटको लतमा फसेका युवती लागूऔषधसँगै यौन धन्दामा पुग्ने गरेका छन् ।

नेपालगञ्जलाई लागूऔषधसँगै यौन विकृतिले कुरूप बनाउँदै लगेको जानकारहरु बताउँछन् । यस्ता विकृतिले अपराध बढाउनेमा रैथानेहरु चिन्तित छन् ।