धुलिखेल नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सञ्जीवनीलाई

14
Shares

काभ्रे।

धुलिखेल नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको समापनसँगै उत्कृष्टहरुलाई नगरपालिका प्रमुख अशोक ब्यान्जुले पुरस्कार वितरण गरेका छन् ।

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स तथा भलिबल तर्फ १० स्वर्ण, ४ रजत र २ काश्य पदक गरी १६ पदक प्राप्त गर्दै सञ्जीवनी मावि धुलिखेल राष्ट्रपति रनिङ्ग शिल्ड २०८० को विजेता बनेको छ । त्यस्तै ४ स्वर्ण, ५ रजत र २ काश्य गरि १२ पदक प्राप्त गर्दै धुलिखेल हाईस्कुल धुलिखेलले दोश्रो स्थान र ४ स्वर्ण, ५ रजत र २ काश्य गरी ११ पदक प्राप्त गर्दै सेतीदेवी मावि धुलिखेल २ रबिओपीले तेश्रो स्थान हासिल गरेको छ ।

शनिबार आयोजित समापन खेलमा भलिबल छात्र तर्फ सञ्जीवनी मावि प्रथम, हनुमान मावि द्वितीय र कालिका मावि शारदा बतासे तृतीय भएका थिए । छात्रा तर्फ सञ्जीवनी मावि प्रथम, पूर्ण सञ्जीवनी लंखनामाई मावि द्वितीय र हनुमान माविले तृतीय स्थान हासिल गरेका छन् ।

इम्मानुयल इ बोर्डिङ स्कुल, पूर्ण सञ्जिवनी लंखनामाई, श्रीखण्डपुर मावि, डिभाइनलाईट इ बोर्डिङ स्कुल, कालीदेवी मावि डाँडागाउँ, सरस्वती मावि  बडालगाउँ, हनुमान पात्लेखेत, शंखेश्वर महालक्ष्मी मावि, माउन्ट भ्यू, देवीस्थान मावि, कालिका मावि र गोल्डेन सिद्धार्थ एकेडेमीले विभिन्न पदकहरु जितेका छन् । एथेलेटिक्स तर्फ २६ वटा स्वर्ण, रजत पदक २६, काश्य पदक २६ गरी ७८ वटा पदक थिए भने भलिबल तर्फ २ स्वर्ण, २ रजत, २ काश्य पदक प्राप्त भएका छन् ।

 प्रतियोगितामा नगर भित्रका ३९ विद्यालय मध्ये ३२ विद्यालयका ५ सय ५६ जना विद्यार्थी सहभागी थिए । ५६ वटा विद्यामा प्रतिस्पर्धा भएको प्रतियोगितामा विद्यालय स्तरीय खेलकुद कार्यक्रम पनि समावेश भएको नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख भोजकुमार ठकुरीले जानकारी दिए । कक्षा ३ का ४ वटा विद्या, कक्षा ६ देखि ८ सम्मका १४ विद्या, कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले २८ वटा विद्यामा प्रतिस्पर्धा गरेका थिए । भलिबलमा प्रथम र एथलेटिक्स लगायतका विभिन्न विद्यामा प्रथम तथा दोस्रो हुनेहरुले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिनेछन् ।

सामाजिक विकास शाखाका संयोजक गणेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न शाखाका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।