गोल्माराजाको दरबार क्षेत्र परिसरमा बुद्धको मूर्ति स्थापना

0
Shares

रौतहट। 

चन्द्रपुर– १ मा रहेको ऐतिहासिक गोल्मा राजाको दरबार क्षेत्र परिसरमा शनिबार बुद्धको मूर्ति स्थापना गरिएको छ । ३ सय ५० वर्ष पहिले शेनबशिय राजा गोल्माको दरबार रहेको किंवदन्ती बोकेको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा थाई नेपाल मेरिट ब्रीजग्रुपबाट सहयोग प्राप्त बैरी विनाश बुद्धको मूर्ति स्थापना गरिएको हो ।

 ओझेलमा परेको चन्द्रपुर नगरपालिका–१ मा रहेको ऐतिहासिक गोल्मा राजा रानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने योजना अनुसार शनीबार बैरी विनाश बुद्धको मूर्ति स्थापना गरिएको छ । शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुडिखेलमा दुई करोड रुपियाँ  पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान बुद्धको मूर्ति स्थापना गरिएको भिक्षु मेधंकर स्थबिरले बताए ।

सो क्षेत्रलाई गोल्माराजा बौद्ध बिहारको नाम दिनुका साथै ध्यानकेन्द्रको रुपमा विकास गरिने भएको हो ।

करिब ६ सय मिटरको उचाइ र चारैतिर बनजङ्गलले  घेरिएको (खुल्ला चौर ) टुँडिखेलको संरक्षण गरिने जनाइएको छ । सो क्षेत्रमा बेल र पारिजातका फूलहरू समेत रहेका छन् । ऐतिहासिक, पुरातात्त्विक र किंवदन्ती महत्त्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकि धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षणमा सबैको एकताको खाँचो रहेको पूर्व  वडाध्यक्ष बिरु रखालले बताए । भग्नावशेष दरबारको संरक्षण र प्रवर्द्धन सबैपक्ष जुट्ने हो भने मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बन्ने छ ।