खुला ब्याडमिन्टन प्रतियोगितामा चार टिम विजयी 



ललितपुर ।

सैबु ब्याडमिन्टन सर्कलद्धारा आयोजित दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा चार टिम विजयी भएका छन् । आज आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सैबु ब्याडमिन्टन सर्कलका मनकुमार थापा र अन्जन थापाको टोली विजयी भएका छन् । सो टिमले वालकुमारी सृजना क्लबका राजकुमार भण्डारी र लोकेन्द्र थापाको टोलीलाई २१–१० र २१–१०  सोझो सेटमा विजयी गरेको छ ।

 दोस्रो खेलमा सिद्धिपार्क क्लबका विनोद महर्जन र सुसन चौधरीको टिमले सुरबहादुर घलान र रामप्रसाद चौधरीको टीमलाई २१–८ र २१–१०को अन्तरमा जित निकालेका छन् । तेस्रो खेलमा सैबु ब्याडमिन्टन क्लबका शिशिर राई र सुरेश तामाङको टोलीले मिलनवस्ती क्लबका धनबहादुर थापा र सरोज कुमार शाक्यको टोलीलाई २१–१० र २१–२२ को अन्तरमा जित निकालेका छन् ।

 चौथो खेलमा वालकुमारी सृजना क्लबका दामोदर थापा र बुद्ध लामाको टिमले वावुराजा महर्जन र सुवार वानियाको टीमलाई १९–२१, २१–१७ र २१–१९ अन्तरमा विजयी भएका छन् ।

 नकआउट आधारमा खेलाइने सो प्रतियोगितामा २४ टिम सहभागी भएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काले ब्याडमिन्टर प्रतियोगिताले शारिरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भने–यस वडामा टोल पिच्छे ब्याडमिन्टन क्लब स्थापना भइ सो खेलको विकास भएको छ । त्यसले यस वडामा ब्याडमिन्टन खेलाडी र खेलप्रेमीको सख्या बढ्दै गएको छ ।

 क्लबका अध्यक्ष शंकर मगरले चारवर्ष अघि स्थापना भएको ब्याडमिन्टन सर्कलले हरेक वर्ष आन्तरिक र खुला प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए । उनले प्रतियोगिता आयोजन गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिँदै निरन्तर सहयोगको अपेक्षा राखेका थिए ।

 प्रतियोगिता यही २३ गतेसम्म सम्पन्न हुनेछ । प्रतियोतिामा विजयी टिमले २५, २० र १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्