हामीकहाँ २००७ सालदेखि मिडियाहरू शक्तिशाली हुँदै आएका हुन् । बहुदलीय व्यवस्थामा मिडियाहरू विस्तार भए । पञ्चायत शासनकालमा भने मिडियाहरू अपेक्षित विस्तार हुन सकेनन् । तर,पञ्चायत कालमा पनि मिडिया शक्तिशाली नै थिए । त्यतिबेलाका सम्पादकहरूले कुनै विषयमा विश्लेषण गरेर लेखेको खण्डमा शासन प्रशासनमा रहेकाहरू‘थर्कमान’ हुने गर्थे । २०४६ सालसम्ममा आउँदा सम्पादकहरू धेरै इमान्दार थिए । त्यतिखेर पत्रिका सञ्चालन गर्नेहरू र सम्पादकहरू प्रायः एकै व्यक्ति हुन्थे । अहिलेको जस्तो पत्रकारिताले व्यापारिक रूप धारण गरेको थिएन । त्यतिखेरका सञ्चालक र सम्पादकहरू धेरै नै ‘इथिकल’ थिए । त्यसैले पनि पत्रकारिता क्षेत्र बढी नै विश्वसनीय थियो ।
पत्रकारिताप्रति सबैको विश्वास र आस्था थियो । अहिले भने मिडिया चलाउने मालिकहरू नै अत्यधिक हाबी भए । सम्पादकहरू निरीहजस्ता देखिए । त्यसैले मिडिया क्षेत्रमा ‘इथिक्स’ भन्ने शब्द कताकता हराउन थालेको देखिन्छ । पञ्चायत सिस्टम ढलेपछि र २०४६÷४७ को परिवर्तनपछि मिडिया क्षेत्रमा ठुलो बहार आयो । संवैधानिक रूपमा नै मिडियालाई धेरै अधिकार दिइयो । त्यसैले पनि मिडियाहरू खुल्ने क्रममा ह्वात्तै बढोत्तरी भयो ।
सबै सम्पादक र वरिष्ठ पत्रकारले स्वमूल्याङ्कन गर्नुपर्छ ।देश साँच्चै नै बनाउने हो भने पहिला मिडिया पनि आमूल रूपमा सच्चिनुको विकल्प छैन ।
त्यसपछि विस्तारै विस्तारै अखबार, रेडियो र टेलिभिजन पत्रकारिताको विस्तार र विकास हुन थाल्यो । पञ्चायती शासनमा सञ्चार माध्यमको जुन रूपमा विकास हुनु पथ्र्यो त्यो रूपमा हुन नसकेको सत्य हो । तर मिडियाहरू जति थिए शक्तिशाली अवस्थामा थिए । सम्पादक तथा पत्रकारहरू पनि थोरै थिए । भएका मध्ये धेरै इमान्दार नै थिए अहिलेको तुलनामा । अहिलेको अवस्थामा अखबारहरू कमजोर हुँदै जान थालेका छन् । यो समस्या नेपालमा मात्रै होइन । पुरै विश्वमा नै छ । हामीकहाँत आर्थिक मन्दीले झनै अखबारहरू र सञ्चार क्षेत्र संकटमा परिरहेको देखिन्छ । पब्लिकेसन्स्को संख्या बढी छ तर विज्ञापन कम आउने गरेको छ । त्यसैले पनि सञ्चार संस्थाहरूलाई टिक्न कठिन हुँदै गएको छ । अहिले प्रेस काउन्सिलमा दर्ता गरेर पत्रिका निकाल्ने अनि अनुदान लिने प्रवृत्ति अत्यधिक छ । त्यो अनुदानमध्ये धेरै अनुदान त्यसै खेर गइरहेको छ । कैयौं पत्रिकाहरू नाम मात्रैका छन् । प्रेस काउन्सिलबाट अनुदान लिनकै लागि निकालिने पत्रिका पनि छन् । यस्ता पत्रिकाले सिंगो पत्रकारिता क्षेत्रको बेइज्जत गर्ने काम गरेका छन् ।
२०४६÷४७ पछिको परिवर्तनसँगै मिडिया क्षेत्रमा क्रान्तिकारी परिवर्तन भयो । त्यतिबेलादेखि नै मिडिया क्षेत्रमा केही मात्रामा दलीय प्रभाव पर्न पुग्दा मिडियाप्रतिको विश्वासमा निकै ह«ास पनि आउन थाल्यो । पत्रकारहरू विभिन्न दलका भ्रातृ संगठनको रूपमा रहन पुगे । नेपालमा अहिले हेर्दा विभिन्न ठुला दलका भ्रातृ संगठनमा पत्रकार भनेर बसेकाहरूको संख्या २३ –२४ हजार जति छन्, भनिन्छ । यसै गरी पत्रकार महासंघमा नै अहिले १२ हजार बढी छन् । पत्रकार महासंघमा रहेका १२ हजारमध्ये लगभग सबै जसो ठुला दलका भ्रातृ संगठनबाट आएका हुन् । यस हिसाबले हेर्दा पत्रकार महासंघ नै सिंगो रूपमा बिटुलोजस्तो देखिन्छ । त्यहाँभित्र सबै दलका पत्रकारहरू भरिएका छन् । त्यसैले पत्रकार महासंघले निश्पक्षता र स्वाभिमानपूर्वक काम गर्न सकेको छैन ।
यता, प्रेस काउन्सिलमा जुन सरकार आयो त्यसैका मान्छे राख्ने खराव प्रवृत्ति भित्रिँदै आयो । यसले गर्दा प्रेस काउन्सिलजस्तो निकाय पनि भर्तीकेन्द्र बनाइयो । सञ्चार क्षेत्रलाई नियमन गर्ने मुख्य जिम्मेवारीमा रहेको प्रेस काउन्सिलमा दलका कार्यकर्ताहरूलाई भर्ती गरेपछि मिडिया क्षेत्र सशक्त र प्रभावकारी हुने कल्पना नै गर्न सकिँदैन । त्यो प्रेस काउन्सिल पनि केही वर्षदेखि नाम मात्रैको हुँदै आइरहेको देखिन्छ । जसका कारण प्रेस काउन्सिलजस्तो स्वायत्त निकायको समेत विश्वसनीयता घट्दो अवस्थामा छ ।
यसरी पत्रकारितामा मात्रै नभएर पत्रकारितालाई नियमन गर्ने निकायमा समेत दलीयकरण हाबी हुँदा हाम्रो पत्रकारिता भुत्ते अवस्थामा पुगेको छ । साउथ एसियामै हेर्ने हो भने पनि अन्य देशको भन्दा हाम्रो पत्रकारिता कमजोर नै देखिन्छ । हामी सञ्चार आवद्ध संघसंस्थाहरूले सञ्चार क्षेत्रमै देखिएका विकृतिलाई उजागर गर्न सकिरहेका छैनौ ।
बरू त्यस्ता समाचारहरू किल गर्ने गरिएको छ । सञ्चारकर्मीहरू एउटा संस्थामा काम गरेका हुन्छन् तर अर्को संस्थाले ठुलो त्रुटि गरेका रहेछन् भने पनि त्यस्ता विषयलाई समाचार हुनबाट रोक्ने गर्छन् । यस्ता प्रवृत्तिले पनि मिडिया क्षेत्रको विश्वसनीयता घट्ने गरेको छ ।खराब कुरामा साँठगाँठ हुने गरेको छ । खराब कुरामा मिडियाका सञ्चालकहरू फ्याट्ट मिल्छन् तर देश बनाउन र सुशासन कायम गर्ने दिशामा एकजुट भएर अघि बढ्ने कोसिस नै गर्दैनन् । अहिले त उनीहरू बिच पनि कसले कति कमाउने भन्ने होडबाजी नै चल्ने गरेको छ । भित्रभित्र को कति बिचौलिया बन्ने भन्नेमा ठुलो प्रतिस्पर्धा हुने गरेको छ । यो निकै दुःखद् कुरा हो ।
हाम्रा यहाका सञ्चार माध्यमको सबैभन्दा ठुलो समस्या भनेको उनीहरूले आम जनतासँग सरोकार राख्ने महत्वपूर्ण विषयलाई उच्च प्राथमिकता दिएर प्रकाशन तथा प्रसारण गर्ने गर्दैनन् । जस्तै, उदाहरणको लागि यहाँका कृषकहरूले भोग्नुपर्ने सबैभन्दा ठुलो समस्या नै मलको समस्या हो । यस्ता समस्याहरूको पहिचान गरी निरन्तर प्रकाशित गर्ने कार्यमा नेपालका मिडियाहरूनराम्ररी चुक्दै आइरहेका छन् । यसै गरी कृषि क्षेत्रले भोग्नुपरेका अन्य समस्याहरू हाम्रो अखबारका मुख्य समाचार बन्नै नसक्ने अवस्था रहेको छ ।
त्यस्तै, गाउँले जनताले भोग्नुपरेका मुख्य समस्या, सर्वसाधरण जनताका समस्याहरूलाई ठुला पत्रिकाले फ्रन्ट पेजमा स्थान दिँदैनन् । अहिलेका सम्पादक तथा वरिष्ठ पत्रकारहरूले राम्रो गरेका छन् भनेर उनीहरूको बखान गर्ने अवस्था अहिले छैन । पहिला पहिला जेसुकै भएपनि गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, मदनमणि दीक्षितलगायतका होनहार सम्पादक पनि हुनुहुन्थ्यो। उहाँहरू निकै नै ‘कमिटेड’ हुनुहुन्थ्यो । तर अहिले त्यस्ता होनहार प्रवृत्ति र केही गरौं भन्ने सोचका सम्पादकहरूको खडेरी नै छ भन्दा अत्युक्ति नहोला ।
अहिले नेपालमा सबै प्रकारका सञ्चार माध्यम गरी धेरै छन् । एसियाको अवस्थामा हेर्दा सबैभन्दा बढी नेपालमा नै रहेको पाइन्छ । यति धेरै मिडिया रहेको भएपनि ती मिडियाले दिने सामग्री भने जनताले कम मात्रै रुचाउने गरेका छन् । हामीकहाँ सबैभन्दा ठुलो समस्या भनेकै मिडिया मालिकहरू पुरै व्यापारिक भएका छन् ।मिडियाको मुख्य धर्म उनीहरूले पुरै बिर्सन थालेका छन् । मिडियाको मुख्य धर्म र कर्मलाई मास्ने काम नै मालिकहरूबाट भइरहेको छ । आफूलाई सबैभन्दा ठुलो मिडिया ठान्ने साहुहरूबाट नै मिडियाको सबैभन्दा बढी दुरूपयोग भइरहेको छ । कंग्लोमेरेट अर्थात् मिडिया सञ्चालकहरूले अन्य विभिन्न क्षेत्रमा पनि ठु्लो लगानी गर्ने प्रवृत्तिले गर्दा पनि मिडिया क्षेत्र आफैं माफियाजस्ता बन्न पुगेका छन् । मिडियाका मालिकहरूले ह्विस्कीमा समेत लगानी गरिदिने ? यस्तो पनि धर्म हुन्छ ? यो त सीधँै व्यापार र तस्करी गरे भइहाल्यो नी ।
यसरी मिडिया सञ्चालकहरूले अन्य क्षेत्रमा लगानी गर्दा मिडियाबाटै ती क्षेत्रको व्यापक प्रचार प्रसार गर्ने प्रवृत्ति छ चाहे त्यो जतिसुकै खराब कनि नहोस्, यहाँ पनि मिडियाको निकै दुरूपयोग हुने गरेको छ । समाचारकै रूपमा ती क्षेत्रको विषयलाई दिने र अत्यधिक नाफा कमाउने परिपाटीको विकास हँुदै आइरहेको छ । यस कारणले पनि मिडिया बढी बद्नाम हुने क्रममा छ । हामी राजनीतिक नेतृत्वलाई दोष दिन्छौँ । दोष मिडियामा पनि त्यतिकै छ । दोषी र खराब राजनीतिक नेतृत्वसँग स्वार्थ मिलाउने र हातेमालो गर्न जाने प्रवृत्ति मिडियाका सञ्चालकहरूमा देखिएको छ । केही दिनअघि मात्रै सत्तारुढ दलका नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आफू अर्थ मन्त्री भएको बेलामा एउटा ठुलो मिडियाका मुख्य सञ्चालक आएर आपूmसँग वार्गेनिङ गरेको तथ्य आंैलाउनुभएको थियो ।
जनार्दनले बार्गेनिङ गरेको विषय सार्वजनिक रूपमा भन्दा पनि त्यो मिडियाका सञ्चालकले त्यसको खण्डन गरेको थाहा पाइएन । यसले पनि ती सञ्चालकले बार्गेनिङ गरेको पुष्टि हुन्छ । यस्ता धेरै बद्मासी छन् मिडियाका साहुहरूको । हामीकहाँ यस्तै कमजोरी र बद्मासीले गर्दा सिंगो मिडिया क्षेत्र नराम्ररी चुक्दै आइरहेको छ । मिडिया चुक्दा सिंगो देश पनि चुक्ने अवस्थामा पुगेको छ । जुन निकै दुखद् हो । अहिले नेपाली मिडिया शक्तिसम्पन्नताको हिसाबले कमजोर अवस्थामा छ ।
पहिला पहिला फलानो मिडियामा खतरा कुरा आयो भनेर हामीले नै भनिन्थ्यो । तर, अहिले त त्यस्तो छैन । ओहो त्यो पत्रिका तथा च्यानलमा त खतरा विषय आयो भन्ने कुरा नै छैन । मिडियाहरूले नीतिगत भ्रष्टाचारका विषय धेरै कम मात्रै उजागर गर्ने गरेका छन् । यदि नीतिगत भ्रष्टाचारका विषय निकै कम उठाए तथा खोजी गरेभने पनि त्यसको ‘फलोअप’ नै हुँदैन ।
यसैक्रममा कतिपय अवस्थामा साँठगाँठका कुरा पनि आउने गर्छन् । अहिले त मिडियाले खोजी समाचार त के कुरा, विस्तृत समाचार समेत दिन छोडिसके । यस्तो प्रवृत्तिले मुलुक र समाजलाई ठुलो क्षति पुग्छ । सरकार बेढंग किसिमले अगाडि गइरहेको छ भने त त्यसलाई चेक गर्ने र खबरदारी गर्ने मुख्य निकाय भनेकै मिडिया हो । अहिले मिडिया आफैं खराब हुँदा खबरदारी हुनै छोड्यो । जसले जे गरेपनि हुने गरि अराजकता व्यापक मौलायो । समाजका बुद्धिजीवी ठालु वर्ग नै विभाजित भए । यस्तो अवस्थामा मिडियाले समाज तथा सामाजिक सदस्यलाई पनि दिशानिर्देश गर्नै सकेन ।
कार्यपालिका न्यायपालिका र व्यवस्थापिकालाई समेत आआफ्नो जिम्मेवारी अनुसार अघि बढ है भनेर खबरदारी गर्ने र उनीहरूलाई सही मार्गमा लम्काउने कार्य पनि मिडियाले गर्नुपर्ने हो तर हामीकहाँ मिडियाहरूले यस्तो कार्य समेत गर्न सकेका छैनन् । राजनीति खराब भइरहेको अवस्थामा त्यसलाई सुधार्न मिडिया क्षेत्र थप ‘इथिकल’ र जिम्मेवार बन्नैपर्छ । अहिले राजनीतिक क्षेत्रमा धेरै विकृति बढेको छ । भागबण्डे संस्कारले ‘राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छे’लाई समाउने प्रवृत्ति व्यापक छ । बेरोजगारी समस्या उग्र छ । राज्यपक्ष बेरोजगारी समस्या समाधान गर्न पूर्ण रूपमा असफल छ । सांसदहरू ठेकेदार बनेका छन् ।
उच्च पदस्थहरू प्रायः सबै कमिसनको चक्करमा फसेका छन्। नेताहरू माफियाका दोस्त बन्ने गरेका छन् । यानेकी नेता, शासक प्रशासक सबै माफिया र बिचौलियाका निकट बन्ने गरेको पाइन्छ । तर, बिडम्वना अहिले अधिकांश ठुला मिडियाका सञ्चालक तथा प्रकाशकहरू आफैं पनि माफियाको चङ्गुलमा परेको देखिन्छ । सञ्चालक तथा प्रकाशक नैतिकवान र पारदर्शी बन्न सकेभने अन्य पक्षमा त्यसै सुधार आउँछ । बिचौलिया बनेर सेयर माग्ने, ठेक्का माग्ने प्रवृत्ति व्यापक छ मिडिया सञ्चालकमा । ठेक्का नदिए, सेयर नदिए ठुला मिडियाले धाराप्रवाह रूपमा खोइरो खन्ने प्रवृत्ति छ । यो घातक हो । पहिला खोइरो खन्ने र लाभ लिने । तर, लाभ लिन नसके खोइरो खनेको खनै गर्ने । लाभ लिएपछि पुरै चुप । लाभ दिएकाहरूले जतिसुकै अपराध गरेपनि मिडिया मौन । यस्तो पनि पत्रकारिता र मिडिया हुन्छन् ? गम्भीर प्रश्न छ –यसले नेपाली मिडिया क्षेत्रलाई कहाँ पु¥याउला ?
कर तिर्ने विषयलाई हेर्दा पनि सबैभन्दा ठु्लो र सबैभन्दा बढी विज्ञापन आउने भनेर चिनिएको कान्तिपुरले भन्दा गोरखापत्रले बढी कर तिर्छ । यस्तो कसरी भयो ? थाहा भएकै विषय छ, बढी खुलासा नगरौं । मिडियाले गलत बाटोबाट आयआर्जन गर्न खोजेको पुष्टि हुन्छ । अन्ततः त्यसले समाजलाई नै गम्भीर असर पु¥याउछ । कर छली गर्ने कार्य नै मिडियाबाट हुन्छ भने सर्वसाधारणले मिडियालाई कसरी विश्वास गर्लान् र ?
हामीकहाँ समग्र मिडिया क्षतिग्रस्त हुन पुगेको छ । त्यसैले मिडिया क्षेत्र किन र कसरी बिग्रियो भन्ने कुरामा सबैले आत्मसमीक्षा गर्नुपर्छ । ठुला सञ्चार माध्यममा लामो समयसम्म सम्पादक भएर बसेकाहरू केही बोल्दैनन् । संस्था छोडेपछि त ती संस्थाका बद्मासीका बारेमा बोल्नुपर्ने हो तर कोही बोलेको देखिँदैन । शायद लोभले होला ।
फेरि सम्पादक हुने लोभ पलाएकाले केही बोल्न नसकेको हुन सक्छ । कुनै पनि मिडिया हाउसमा कुनै सम्पादक लामो समयसम्म टिकिरहेको छ भने बुझ्नुपर्छ त्यहा मालिक र सम्पादकको स्वार्थ मजाले मिलेको छ वा सम्पादक मालिकको एसम्यान बनेको छ । मलाई राम्ररी थाहा छ, एउटा निकै ठुलो मिडियाका सम्पादकले सञ्चालकको काम फत्ते गर्न बिचौलियाकै भूमिका निर्वाह गरेका थिए । धेरै सम्पादकले साहुको हितमा सेटिङ मिलाउने गरेका छन् । त्यसमा पनि सबैभन्दा ठुला भनिएका मिडियाका सम्पादक सबैभन्दा बढी बिचौलिया र माफियाकै भूमिकामा छन् । अनि त्यस्ता मिडियाले कसरी देश र जनताको हित गर्छन्? जनताबाट त उनीहरू विस्तारै नांगिदै जान थालेका छन् । अहिलेका सम्पादक र अधिकांश मिडियाहरू व्यावसायिक हुनै सकेका छैनन् ।
पुरै व्यापारिक । सम्पादक र पत्रकार व्यपारिक भएपछि त मिडिया नै रहेन । पत्रकारिता होइन पर्चाकारिता मात्रै भयो । मिडिया यसरी नै अगाडि बढिरह्यो भने मुलुकमा भाँडभैलो, अन्यौल र पुरै अराजकता छाउँछ । यसरी नै मिडिया चुक्दै जाने हो भने देशमा अन्यौल, भाँडभैलो र अराजकता बढेको बढै हुन्छ र देश संकटको भूमरीमा फस्न सक्छ । त्यसैले देशलाई असफल हुनबाट बचाउन, नेतालाई पनि सही ठाउँमा ल्याउन सबै मिडियाका पत्रकार तथा सम्पादकहरू आमूल रूपमा सच्चिनुको विकल्प छैन । मिडिया भनेको सुप्रिम संरक्षक हो । मिडियाको मुख्य शक्ति भनेकै उसको विश्वसनीयता हो । त्यसैले अब मिडिया आपूm सच्चिएर शासकको कमिकमजोरी पत्ता लगाउने,समाजलाई सचेत बनाउने, जागरण फैलाउने कार्यमा तल्लीन भएर लाग्नुपर्छ ।
यसो गर्न सकिएमा मात्रै मुलुक बन्न सक्छ । राज्यका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरी तीन वटै निकायलाई सही बाटोमा हिडाउन पनि मिडियाकर्मीहरूले ठुलो भूमिका खेल्न सक्नु पर्छ । अब ठुला सञ्चार माध्यमका सम्पादकहरू र पत्रकार सबै सच्चिनु पर्छ । सबै सम्पादक र वरिष्ठ पत्रकारले स्वमूल्याङ्कन गर्नुपर्छ । साहुहरूको दास बन्नु हुँदैन । एकताबद्ध भएर सुधारको पथमा अग्रसर हुनैपर्छ । यसो गर्न सकिएमा मात्रै चुकेको अवस्थालाई सच्याउन सकिन्छ । देश साच्चै नै बनाउने हो भने पहिला मिडिया पनि आमूल रूपमा सच्चिनुको विकल्प छैन ।
प्रतिक्रिया