पत्रकारितामा प्रवेश र संघर्ष



 विष्णु शीतल–अमेरिका

पत्रकार हुन पत्रकारितामा आएको थिइन । काठमाडौंमा टिक्नकै लागि रोजगारी खोज्दै थिएँ । अझ यसरी भनौं जीवनको बाटो अल्मलिएको अवस्थामा थिएँ । अलमलमै जीवन उत्तराद्र्धतर्फ लाग्दै थियो । म भने २२–२५ को उमेरमा झैं भविष्य खोज्दै थिएँ ।

मेरो मित्र उमेरले दाजु नरनाथ लुइँटेल जो व्यंग्यात्मक साहित्यमा प्रखर हुनुहुन्छ र लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गर्नुभयो । २०४० सालदेखिको मित्रता हो हाम्रो । उहाँ भित्रको निःस्वार्थ सहयोगी भावनाले म अलमलिएको मान्छेलाई बाटो देखायो । तब व्यावसायिक सञ्चारकर्मी बनायो । लुइँटेल सरप्रति यो लेखमार्फत कृतज्ञता व्यक्त गर्दछु ।

मलाई लुइँटेल सरले दायाँ–बायाँ नलागी नेपाल प्रेस इन्स्टिच्युटबाट एकवर्षे पत्रकारिता प्रशिक्षण लिन र एउटा ठूलो मिडिया हाउसमा पसेर पत्रकारितामार्फत देशको सेवा गर्न कडाइका साथ सुझाव दिनुका साथै सहजीकरण गर्नुभएको थियो । त्यो बेलासम्म मलाई पत्रकारिता पेशा हो भन्ने समेत ज्ञान थिएन । यसभित्र आफ्नै किसिमको व्यावसायिक धर्म र आचरण निर्वाह गर्नुपर्छ भन्ने ज्ञान पनि थिएन । प्रशिक्षणकै क्रममा मैले यो पेशालाई चिनेको थिएँ । मैले यसलाई यथास्थितिको विरोध गर्न गोप्य ढंगले सूचना संकलन गर्ने वा कसैको चरित्रहत्या गर्न व्यक्तिका मनगढन्ते कथा सिर्जना गर्ने व्यक्तिलाई पत्रकार भनेर गलत ढंगले बुझेको थिएँ । त्यस्तै, मैले पत्रकार भनेका काँधमा एउटा झोला बोक्ने, झोलाभित्र एउटा कापी र कलम हुने, काठमाडौंमा आयोजना हुने सार्वजनिक कार्यक्रममा प्राय देखिने तर, समाचार लेख्ने भन्दा मनपरेको संस्था वा व्यक्तिलाई बढाइचढाइ लेख्ने र मन नपरेकाको रौंको पनि छाला काडेर उतार्नेलाई पत्रकार भनेर गलत बुझेको थिएँ ।

ठूला नेता वा व्याबसायिक घरानाका निवास वा कर्पोरेट अफिसमा दिन रात ढुकेर उद्योेगपति वा कर्पोरेसनको प्रबन्धकबाट केही आर्थिक लाभ हासिल होला कि भन्दै त्यही जुनी बिताउँलाझैं गर्नेलाई पत्रकार भनेर झुक्किइरहेको थिएँ । आफ्नो जागिरको पदोनन्नति हुन नसकेपछि आफ्नो हाकिमको चाकरी गर्न वा विरोधीको तेजोबध गर्न कसैले प्रलोभन देखाएर बोलाउनासाथ दौडिनेलाई पत्रकार भन्ने भ्रम मलाई परिरहेको थियो ।
अगर्दै प्रेस पास बनाएर सुरक्षाका हिसाबले संवेदनशील स्थानहरूमा प्रवेश गर्न दुरुपयोग गर्नेलाई पनि पत्रकार नै हुन भन्ने भ्रम थियो ।

आफ्नो कार्यालयबाट स्मारिकाहरू सम्पादन गर्ने जिम्मा पाएकाले त झन ठूला मिडिया हाउसका सम्पादकसरह आफूलाई अब्बल दर्जाको पत्रकार हुँ भन्दै हिँडेकाको पनि विश्वास लागेर पत्रकारकै रूपमा सम्मान गर्दथें । यस्ता थुप्रै भ्रमहरू थिए प्रशिक्षण लिनुभन्दा पहिले ।जब प्रशिक्षण प्राप्त गरेर प्रमाणपत्र लिँदैं गर्दा महसुस भयो कि अब म जिम्मेवार र व्यावसायिक सञ्चारकर्मी भएँ । मैले बोलेका वा लेखेका तथ्यपरक सूचनाले देशको रूप फेरिन सक्छ ।

समाज बदलिन सक्छ । देशमा ठूला ठूला परिवर्तन आउन सक्छन । विकासका विभिन्न चरणहरू आउन सक्छन् । मुलुक बदलिन सक्छ । भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण हुन सक्छ । यदि, म पेशाप्रति इमान्दार हुन सकिन भने समाजमा भ्रम सिर्जना हुन सक्छ । मैले लेखेका वा बोलेका कुराहरू तथ्यपरक भएनन् भने अथवा उल्टो हुन पुगेमा समाजमा विद्रोह जम्मिन सक्छ । कसैको चरित्र हत्या हुन सक्छ र ज्यानै जोखिमका पर्न सक्छ । देशमा अशान्ति मात्र हैन युद्ध नै हुन सक्छ । एक वर्षपछि म साँच्चिकै प्रशिक्षित भएको थिएँ । मलाई अब थाहा भयो कि यो पेशामा काम जुनसुकै बेला शुरु हुने रहेछ । जुनसुकै अवस्थामा जस्तोसुकै ठाउँमा पुग्नुपर्ने । जे देखिन्छ, देखेको कुरा समाजले बुझ्ने भाषामा लेख्नु वा बोल्नुपर्छ । तर, याद गर्नुपर्ने सवाल के छ भने मेरो लेखाइ वा बोलाइबाट सामाजिक सदभाव र देशको हितमा नराम्रो प्रभाव पर्नुहुँदैन । देशको हित सबैभन्दा प्रमुख सवाल हो ।

जब यी ज्ञानका कुरा, व्यावसायिक लेखन क्षमताको विकास भइसकेपछि मलाई नेपाल समाचारपत्रले ठाउँ थियो । ठाउँ पाउनु मेरा लागि निकै महत्वपूर्ण खुड्किला थियो । जीवनको नयाँ मोड थियो । आफ्नो परिवारको जिम्मेवारी त छँदै थियो अब समाज र देशप्रति पनि एक जिम्मेवार नागरिक भएको थिएँ । नेपाल प्रेस इन्स्टिच्युटमा पाहूना प्रशिक्षकको रूपमा ठूला सञ्चार घरानाबाट वा वरिष्ठ पत्रकारहरू मध्येबाट बेलाबखत रोजगारदाता सम्पादकहरूसँग पनि प्रशिक्षार्थीहरूलाई अन्तरक्रिया गराइन्थ्यो ।

यस क्रममा पुग्नुभएको कामना प्रकाशनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठसँग कक्षा कोठामै केही सवाल जवाफ अर्थात् विषयमै छलफल भएको थियो । उहाँले मेरो हेक्का राख्नुभएको रहेछ यसबाट मलाई कामनामा काम पाउन सजिलो भयो । शैक्षिक योग्यतामा वाणिज्य शाष्त्रको स्नातक भएको मेरो विभाग९बिट० अर्थ, वाणिज्य हुन पुग्यो । अब मेरो समाचारका श्रोतहरू अर्थ वित्त उद्योग, वाणिज्य जलश्रोत कृषि, नेपाल राष्ट्र बैंकलगायत बैकहरूलगायतमा काम गर्ने वरिष्ठ कर्मचारी, निजी क्षेत्रका उद्योगी व्यापारी र अर्थशाष्त्री विद्वानहरू हुने भए ।

उनीहरूसँग भएका सूचना लिनु, त्यसको विश्लेषण गर्नु, समाचार वा आलेखहरू तयार गर्नु र प्रकाशित गर्नु मेरो कर्तव्य र दायित्व दुवै हुने भयो । यसरी कामना प्रकाशनमा प्रवेश पाइसकेपछि नेपालको प्रमुख सञ्चार माध्यमभित्रको एक हिस्सा म पनि बन्न पुगें । अब मलाई नेपालका राष्ट्रिय स्तरका व्यक्तित्वसँगको पहुँच सहज हुँदै गयो । त्यस तहका व्यक्तिहरू पनि मसँग साथीहरूसरह व्यवहार गरेको अनुभव गर्न थालेँ । यो देख्दा मलाई लाग्न थाल्यो कि मेरो उत्तरदायित्व बढेको छ । मैले अध्ययनलाई बढाउनुपर्दछ । मेरो सीप र क्षमतालाई पनि बढाउनु पर्दछ । म नयाँ पेशामा भर्खर प्रवेश गरेको भए पनि अब मेरो कुरा राज्यको उपल्लो तहसम्म पुग्ने र कतिपय अवस्थामा नीतिगत सुधारमा समेत आफ्नो योगदान हुनसक्ने कुराले म निकै दंग थिएँ ।

एक दिनको कुरा हो– तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्बोधन हुने नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभाको काठमाडौंको भृकुटी मण्डपमा आयोजित कार्यक्रमको रिपोर्टिङ गरिरहेको थिएँ । देशमा माओवादी व्दन्दको चरम अवस्था थियो । भर्खरै दाङमा सेनाको ब्यारेकमाथि आक्रमण भएको थियो । प्रधानमन्त्रीको सम्बोधनमा विदेशी सैनिक सहायता आवश्यक परेमा त्यो पनि लिन सक्छौं भन्दै भारतीय सेनालाई नेपालको द्वन्द्व समाधानका लागि आमन्त्रण गर्ने आशयको अभिव्यक्ति आएको थियो ।

मेरो समाचारमा यो कुराले महत्व पाएको हुनाले भोलिपल्टको समाचारमा प्रधानमन्त्रीले भारतीय सेना भित्र्याउने आशय देखिएपछि यो सनसनी फैलियो सडकदेखि सदनसम्म । सञ्चार मन्त्रालयले प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ र सम्पादक कपिल काफ्लेलाई मन्त्रालयमा बोलाइयो । बजारबाट पत्रिका उठाउन भनियो । मेरो प्रधान सम्पादक र सम्पादकले कागजमा सही गरेर आउनुभयो । यदि, प्रधानमन्त्री नबोलेका कुरा समाचारमा आएको भए रिर्पोटर र प्रकाशन गृहलाई कारबाही गर्न मञ्जुरीनामामा सही गरिएको थियो । हामी त्यस दिनको श्रव्यदृष्य सामग्रीको खोजीमा लाग्यौँ । आयोजकले श्रव्यदृष्य सामग्री दिन अस्वीकार गरे ।

सरकारी सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति कसैले पनि नदिएपछि हामीले बीबीसी नेपाली सेवालाई अनुरोध ग¥यौं । बीबीसीका भागिरथ योगीको सहयोगमा अडियो लिएर आयौं । प्रधानमन्त्रीले बोलेका कुराहरू जस्ताको तस्तै प्रकाशित गरियो । दिनभर सडक र सदनमा प्रतिपक्ष दलले प्रधानमन्त्रीको राजीनामा मागेर आन्दोलनको घोषणा गरिसकेको थियो । भोलिपल्ट हाम्रो पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्रीको सम्बोधनको हुबहु प्रकाशित भएपछि प्रकाशन गृह र म रिपोर्टरको रक्षा भयो, तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुभयो । यो मेरो पत्रकारिता जीवनमा धेरै ठूलो सफलता हो । संयोगले अरु कुनै पनि मिडियाले यो कोणबाट समाचार नलेखेको हुनाले नेपाल समाचारपत्रमा विष्णु शीतलको रिपोर्टकै आधारमा देशको प्रधानमन्त्रीले राजीनामा दिनुपरेको थियो । यसरी मैले मात्र हैन नेपाल समाचार पत्रको तत्कालीन सम्पादन समूह तथा सम्पूर्ण प्रकाशन गृहको शिर उच्च भएको थियो । यस प्रकारका सफलताहरू आफ्नो पेशागत जीवनमा वीरलै मात्र प्राप्त हुने हो ।

प्रतिक्रिया दिनुहोस्