एउटै व्यक्ति दुई योजनाको प्रमुख, निर्माणकार्य प्रभावित

0
Shares

रौतहट ।

एउटै व्यक्तिलाई दुई वटा योजनाको प्रमुखको जिम्मेबारी दिएपछि विकास निर्माणको कार्य प्रभावित भएको छ ।

चन्द्रपुर सुकदेव चोक १३२ केभी प्रशारण लाइन योजना चन्द्रपुर, रौतहटका प्रमुख धूपेन्द्रकुमार झालाई नै मधेस प्रदेश ग्रामीण विद्युतीकरण सुदृढीकरण आयोजना एलट नम्बर–५ चन्द्रपुर रौतहटको समेत प्रमुखको जिम्मेबारी दिएपछि विकास निमार्णको कार्य प्रभावित भएको हो ।

योजना प्रमुखले कार्यालयमा समय नदिएका कारण सुस्त गतिमा कार्य भइरहेको आरोप स्थानीयको रहेको छ । एक महिनामा सात दिन मात्रै कार्यालयमा उपस्थित हुने प्रमुख झाले योजनाको सवारीसाधनसमेत दुरुपयोग गरेका एक कर्मचारी स्रोतले नाम उल्लेख नगर्ने सर्तमा बताउ । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले जीपीएस जडान गर्न निर्देशन दिए पनि उहाँले चन्द्रपुर सुकदेव चोक १३२ केभी प्रशारण लाइन योजना चन्द्रपुर, रौतहटको बीएबी ८३५७ नम्बरको सवारीसाधन जीपीएस जडान नगरी दुरुपयोग गर्दै आउनुभएको छ । ०७९ साउन १ गतेदेखि दुवै योजनाको उहाँले प्रमुखको जिम्मेबारी पाउनुभएको हो ।
मधेस प्रदेश ग्रामीण विद्युतीकरण सुदृढीकरण आयोजना एलट नम्बर ५ चन्द्रपुर रौतहटको वागमती प्रदेश ०१००१ ञ २७९७ नम्बरको सवारीसाधनमा भने जीपीएस जडान भएको छ । रौतहट, बारा र पर्सा जिल्लामा भइसकेको विद्युतीकरणको सुधारदेखि नयाँ लाइन जडान गर्न मधेस प्रदेश ग्रामीण विद्युतीकरण सुदृढीकरण आयोजना एलट नम्बर ५ चन्द्रपुर रौतहटको स्थापना भएको हो ।

मधेस प्रदेश ग्रामीण विद्युतीकरण सुदृढीकरण आयोजना एलट नम्बर ५ चन्द्रपुर रौतहटका प्रमुख धूर्पेन्द्र झाले भने निर्माण कार्यमा ढिलासुस्ती नभएको र यसको कार्यालयकाठमाडौँ रहेको बताउनुभएको छ ।