स्वास्थ्य शिखर सम्मेलनको सार्थकता

0
Shares

नेपाल चिकित्सक संघ (एनएमए) ले आयोजना गरेको दुईदिने तेस्रो स्वास्थ्य शिखर सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनको मूल एजेन्डा ६ वटा विषयमा केन्द्रित रहेको थियो । सम्मेलनमा स्वास्थ्य क्षेत्रको नीति निर्माण तहदेखि कार्यान्वयन गर्ने, गराउने निकायका जिम्मेवार व्यक्तिहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको सम्मेलनमा सरोकारवाला निकायसँग भएका घनिभूत छलफलबाट निकालिएको निचोडलाई १६ बुँदे घोषणापत्रका रुपमा जारी गरिएको थियो । सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरोकारवाला सांसद तथा मिडियाहरुलाई समेत विषय बुझाउन सक्नुपर्नेमा जोड दिँदै सम्मेलनले निकालेका निष्कर्षहरुलाई पूरा गर्न राज्यका सबै निकाय लाग्नुपर्ने औँल्याउनुभयो ।

घोषणापत्रमा नेपालको स्वास्थ्य सेवा प्रणालीको विद्यमान अवस्थालाई ध्यानमा राख्ने र तत्कालै आवश्यक स्रोत–साधनहरुको अधिकतम सदुपयोग गरी प्राकृतिक विपत्तिबाट हुने थप क्षतिबाट बचाउन पहल गर्ने, स्वास्थ्यका विषयमा दीर्घकालीन रणनीति बनाउनेजस्ता कुरा समाहित गरिएको छ । त्यस्तै जनशक्तिको तयारी, पूर्वाधारको विकास तथा औषधि उपचारका लागि आवश्यक पर्ने औजारहरुको पर्याप्त व्यवस्थापन गर्न आवश्यक पहल गरिनुपर्ने कुरासहित महामारीपछि प्रयोग भएका स्रोत–साधनको एकीकृतरुपमा व्यवस्थापन गर्ने विषय पनि सम्मेलनमा उठान गरिएको थियो । यसका साथै महामारीका बेला प्राप्त स्रोत–साधन र सहयोगलाई व्यवस्थित गर्ने अनि आवश्यक पर्दा पुनः प्रयोगमा ल्याउन सक्नुपर्नेमा जोड दिइएको थियो । यस्ता विषयमा सरकार र सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी छ ।

यति बेला जाजरकोटमा गएको भूकम्पपीडितका नाममा प्रधानमन्त्री कोषमा स–साना विद्यार्थीले समेत खाजाका लागि अभिभावकले दिएको पैसा जम्मा गरेर प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् । यस्तो सहयोग पीडितलाई समयमै राहत पुग्ने गरी हस्तान्तरण गरियोस् भन्ने सबैको चाहना हो । जाजरकोटमा चिसोका कारण बालबालिका, सुत्केरी महिला, ज्येष्ठ नागरिकको धमाधम मृत्यु भएको समाचार बाहिरिएको अवस्था छ । त्यसैले चिसोबाट बचाउन सुरक्षित बासको व्यवस्थाका लागि नेपाली सेना, सशस्त्र प्रहरीहरुलाई प्रयोग गरी त्यहीँको स्थानीय स्रोत–साधनबाट चाँडोभन्दा चाँडो ओतको व्यवस्था गर्नेतर्फ ध्यान दिइयोस् । स्वास्थ्य सुरक्षाका लागि नभई नहुने गाँस, बास र कपासको व्यवस्थाका लागि सरकारले ध्यान पु¥याउनुपर्ने कुरासमेत सम्मेलनमा उठेको थियो ।

सम्मेलनले चारवटा मुख्य आधारस्तम्भहरु निचोडका रुपमा निकालेको छ । सञ्चार, व्यवस्थापन, जनशक्ति र वित्तीय सुनिश्चिततालाई उच्च प्राथमिकतामा राखी प्रभावकारी स्वास्थ्य सेवाप्रवाहका निम्ति सुरक्षित एवं बलियो संयन्त्रको निर्माण गरिनुपर्ने, स्वास्थ्य मन्त्रालयबाट विभिन्न रोग तथा कार्यक्रमको नाममा विनियोजन हुँदै आएको बजेटलाई स्वास्थ्य बिमामार्फत नै विनियोजन गर्ने व्यवस्थाको सुनिश्चित हुनुपर्ने, देशभरका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य बिमामा संलग्न गराउने वातावरण सिर्जना गरिनुपर्नेजस्ता आधारस्तम्भका विषयमा सम्मेलनले जोड दिएको छ । यसलाई सरकारले आत्मसात् गरोस् र नागरिकको स्वास्थ्यमा समस्या नआओस् । घोषणापत्रमा प्रस्तुत यस्ता विषयवस्तु अर्को सम्मेलनसम्म पूरा गर्नेतर्फ निकाय लाग्यो भनेमात्र यो सम्मेलनको सार्थकता भएको मानिनेछ । त्यसैले यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।