लिमा अधिकारी रास्वपाको कोषाध्यक्षमा चयन

एमालेको २२ वर्षसम्म संगठित सदस्य

0
Shares

काठमाडौँ।

रास्वपा केन्द्रीय सदस्य लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कोषाध्यक्षमा चयन हुनुभएको छ । हिजो सम्पन्न पार्टीको केन्द्रीय बैठकले उहाँलाई कोषाध्यक्ष नियुक्त गरेको हो ।
उहाँ गत वर्ष फागुन महिनामा रास्वपा प्रवेश गर्दै तत्काल केन्द्रीय सदस्य बन्नुभएको थियो । त्यसको छोटो समयमा नै उनलाई पार्टीको महत्वपूर्ण पोर्टफोलियो प्राप्त भएको छ ।

आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य रहनुभएको लिमा एमालेको उद्योग विभागमा काम गरेको अनुभव छ । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उहाँ त्यसैमा आबद्ध हुनुभएको थियो । नेकपा एसको केन्द्रीय परिषद् सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको निर्देशक पनि हुनुहुन्छ । उहाँका पिता भरतमोहन अधिकारीले एमालेको लोकप्रिय अल्पमतको सरकारमा सफल अर्थमन्त्रीको भूमिका निभाउनुभएको थियो । वृद्ध भत्ता र आफ्नो गाउँ आफैं बनाऊँ अभियान भरतमोहनले नै पहिलोपटक बजेटमा ल्याउनुभएको हो । लिमा भरतमोहनकी माइली छोरी हुनुहुन्छ ।