ऋण तिर्न विदेशिएका राजकुमारको घरमा पैसा पठाउनै नपाई मृत्यु

14
Shares

दोलखा।

भिजिट भिसामा दुई महिना अघिमात्र रुस पुगेका दोलखा मेलुङ गाँउपालिका– ६ मेलुङ सुनुवारपानीका राजकुमार रोक्काको मृत्यु भएको छ । राजकुमारले रुस पुगेको केही दिनमै दाजु सुमनकुमार रोक्कालाई फोन गरेर आफू रुसी सेनामा भर्ना भएको खबर सुनाएका थिए ।

मृत्युको कारण बारे आफूहरूलाई स्पष्ट जानकारी नआएको भएपनि तालिमको क्रममा बङ्कर भित्र उसको मृत्यु भएको सुनेको दाजु सुमनकुमारले बताए ।
काठमाडौँमा व्यवसाय गर्दागर्दै दुई महिना अघि असोज १४ गते रुस पुगेका भाइ राजकुमारले १६ गतेनै आफू रुसी सेनामा जागिरे भएको सुनायो, दाजु सुमनकुमार रोक्काले भने– रुस– युक्रेन युद्धको बारेमा सुनेकोले मनमा चसक्क भयो र मैले बरु प्लेनको टिकट म पठाउछु नेपालनै फर्क यस्तो बेलामा सेनामा काम नगर भनेको थिए ।

भाइले, आफ्नो धेरै ऋण भएको र रुसी सेनामा राम्रो तलब सुविधा तथा ५० लाखको विमा समेत रहेकोले यतै काम गर्ने बतायो सुमनले भने– तर अहिले उसको मृत्युको खबर सुन्नु पर्दा परिवारनै विक्षिप्त बनेका छौ ।

२०६४ सालमा शसस्त्र प्रहरीमा भर्ना भएका राजकुमारले त्यसको ६ बर्षपछि २०७० सालमा प्रहरीको जागिर छोडेर काठमाडौँको टोखामा डेकोर (घर सजावट) का सामानको व्यवसाय सुरु गरेका थिए । सुरुका बर्षहरुमा उसको व्यवसाय राम्रै थियो तर २०७२ सालको भूकम्प र त्यसपछि सुरु भएको कोरोना महामारीका कारण झन्डै एक करोड ऋण लागेपछि उसले मकाउ जाने योजना बनाएको दाजु सुमनले बताए ।

मसंग अब व्यवसायले ऋण तिर्न नसक्ने अवस्था भयो, साहुहरुले दिनकै कचकच गर्छन् त्यसैले म मकाउ जान्छु भन्दै थियो सुमनले भने– तर एक्कासी साथीहरुको लहैलहैमा रुस पुगेछ । रुसी सेनामा जागिरको क्रममा सुरुमा एक पटक कुरा भएको र कार्तिक २६ गते लक्ष्मी पुजाको दिन समेत कुरा गरेका सुमनले मंगलवार विहान वडा अध्यक्ष कुसुम लामाको मुखबाट भाइको मृत्यु भएको खबर सुनेका हुन् । मैले कुरा गरेको तीनदिन पछिनै भाइको मृत्यु भएछ सुमनले भने– अहिले उसको श्रीमती लक्ष्मी चाँपागाईलाई सम्हाल्न मुस्किल भएको छ ।

रुसको मस्को स्थित नेपाली दुतावासले परराष्ट्र मन्त्रालय कन्सुलर विभागलाई रुसी सेनामा कार्यरत रोक्का सहित तीन नेपालीको कार्तिक २९ गते मृत्यु भएकोले परिवारसंग समन्वय गर्न पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रालय कन्सुलर विभागले वडा अध्यक्ष कुसुम लामालाई जानकारी गराएपछि परिवारले राजकुमारको मृत्युको बारेमा खबर पाएको हो । राजकुमारको श्रीमती सहित १० बर्षको छोरा र डेढ बर्षको छोरी छन् ।

व्यवसाय गर्दा लागेको ऋण तिर्न र परिवारको गुजारा सहज बनाउन भनेर विदेशमा काम गर्न गयो तर त्यताबाट एक पटक पनि पैसा पठाउन नपाउँदै ज्यान गुमायो– सुमनले भने ।

भाइको मृत्युको पिडासँगै उनको शव नेपालमा कसरी ल्याउन सकिएला भन्ने समस्या समेत रहेको सुमन बत्ताउँछन् । शव ल्याउन सरकारले सहजिकरण गरिदिने अपेक्षा गरेको उनले बताए ।