कोशी प्रदेशको बजेट सर्वसम्मतिले पारित

0
Shares

मोरङ।

कोशी प्रदेशसभाले विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो ।

मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । प्रस्तुत बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो ।

यसअघि उक्त विधेयकमा असहमति राख्दै एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । तर, उनीहरूले आफ्नो प्रस्ताव फिर्ता लिएसँगै विनियोजन विधेयक निर्णयार्थ पेश भएको थियो । उक्त प्रस्तावलाई सबै दलले ध्वनि मतका साथ समर्थन गरेका थिए ।

खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरूमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन् ।

यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन् । विनियोजन विधेयकको सैद्धान्तिक छलफलमा भने एमाले र राप्रपाले पनि असन्तुष्टि राखेका थिए ।